
काठमाडौं।नेपाल स्रष्टा समाजले यस वर्षको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ क्रमशः साहित्यकार सुकन्या वाइवा ,काठमाडौं र भूपाल बस्नेत,भोजपूरलाई प्रदान गर्ने भएको छ।
साहित्यकार पवन आलोकले स्थापना गर्नुभएको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ रु २५१११। नगद राशिसहित सम्मानपत्र रहेको छ । वि.सं.२०६५ देखि यो सम्मानबाट हालसम्म १६ जना व्यक्तिहरु सम्मानित भइसकेका छन् ।
नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउने र सामाजिक रुपान्तरणमा योगदान गर्ने महिलालाई उक्त सम्मान प्रदान गरिदै आएको छ ।
त्यस्तै समाजसेवी राजेश न्यौपाने ,केदार नेउपाने,श्रीमती दीपा नेउपाने र श्रीमती अर्लिन पर्ज नेउपानेले स्थापना गर्नुभएको ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ रु ५०,००१। नगद राशिसहित सम्मानपत्र रहेको छ ।
सामाजिक रुपान्तरणमा विभिन्न माध्यमबाट योगमाया प्रवृत्तिका अभियान्ताका रुपमा काम गरेका व्यक्तिलाई उक्त सम्मान प्रदान गरिदै आएको छ ।
वि.सं.२०७५ मा स्थापना भएको यस सम्मानबाट यसअघि सातजना व्यक्तिहरु सम्मानित भइसक्नुभएको छ ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’का अनुसार आउँदो असार २२ गते योगमाया दिवसका दिन विशेष समारोहमा यी दुवै सम्मान समर्पण गरिने छ ।

