
काठमाडौं।सरकार र आन्दोलनरत यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन बनेको छ ।
सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको पहिलो चरणको वार्ताले कुनै पनि निष्कर्ष निकाल्न नसकेको सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले जानकारी दिए ।
नेपालले भने- “गृहमन्त्रीज्यूसमक्ष हाम्रा माग राख्यौँ । संघीय सरकारसँग बाझिने कानुन खारेज गर्नुस् भन्यौँ । उहाँले प्रदेशसँग छलफल गर्नुपर्छ भनेपछि हामीले आन्दोलन नरोक्ने अडान लिएर निस्कियौँ । पहिलो चरणको वार्ता निष्कर्षविहीन सकियो । हाम्रो आन्दोलन जारी छ।”
यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ ।
सार्वजनिक सवारी साधन बन्द हुँदा सर्वसाधारण मर्कामा परेपछि प्रहरीले बस सञ्चालनमा ल्याएको हो ।

