काठमाडौं । आज जेठ १५ अर्थात गणतन्त्र दिवस ।
तत्कालीन सात राजनीतिक दलले निरंकुश राजतन्त्रकाविरूद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ।
२०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ।
जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो। गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो।
संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ।
तर,देशमा राजनीतिक अस्थिरताले गर्दा आशातित सफलता प्राप्त भएको छैन् । राजनीतिक दलहरुमा पद लोलुपता र खिचातानीले व्यापकता पाएको छ । जनताका आकाँक्षाहरु पूर्णरुपले पुरा हुन सकेका छैनन् । उपलब्धीहरु संस्थागत गर्ने चूनौति पनि कायमै छ । सुशासनयुक्त राजनीति र प्रशासन,भ्रष्टाचार रहीत समाज,समुन्नत नेपालीका कार्यभारहरु अझै पुरा हुन बाँकी छ । तसर्थ ,राजनीतिक दलहरु र तिनका नेताहरुको ध्यान जानु आवश्यक छ ।
गणतन्त्र भन्दा राम्रो व्यवस्था दुनियाँमा छैन् । तसर्थ,नेपालमा भएका राजनीतिक प्रणाली,कानून लगायतका कुराहरुमा देखिएका ल्याप्सेसहरु हटाउँदै गणतन्त्रलाई आम जनताको व्यवस्थाको रुपमा सुदृढीकरण गर्नु जरुरी छ ।