आज १७ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।
सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्य रूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले उनको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो ।
समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन् ।
संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि नेपालमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे ।