काठमाडौं । अन्ततः कांग्रेस र एमालेबीच सत्ता साझेदारीमा समझदारी भएको छ ।
समझदारीको प्रारम्भिक मस्यौदामा पहिला दुई बर्ष एमालेका केपी ओली र बाँकी अबधी शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने समझदारी भएको एमाले निकट श्रोतले जनाएको छ । एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको ललितपुरमा भएको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो । खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित महाराजगन्त्रमा छलफलमा बसेका समेत जानकारी प्राप्त भएको छ ।
छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुको बाँडफाँट पनि तीन तीन गर्ने र मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने समझदारीको खाका कोरिएको छ ।
खाकामै वर्तमान संविधानको शंसोधन,प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको संख्यामा पुर्नविचार,स्थानीय पालिकाको संख्या घटाउने कार्य हुनेछ र यसका निम्ति पूर्व प्रधानन्यायाधिशको संयोजकत्वमा संविधान पुनरावलोकन गर्न समिति बनाई कार्य थालनी गरिने समेत समझदारीको प्रारम्भिक खाका बनेको बताइएको छ । यसैगरी प्रदेश सभामा समानुपातिक प्रतिनिधित्व हटाउने प्रावधानको समेत प्रस्ताव गरिएको छ ।
उनीहरूबीच संविधानको धारा ७६ (२) बमोजिम नै सरकार गठन गर्ने सहमति भएको र त्यसको सुनिश्चितताका लागि कांग्रेस एमालेका नेताहरू सोमबार राति नै राष्ट्रपतिसँग परामर्श गर्न शीतल निवास जाने तयारी गरेका थिए। तर अन्तिम समयमा भने नगएको पनि काँग्रेस निकट श्रोतले जनाएको छ ।
यसैविच पार्टी सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ ।बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने काँग्रसका एक नेताले बताए ।
औपचारिक रुपमा दुवै शिर्षस्थ नेताहरुले हस्ताक्षर गरेपछि मात्रै सहमति हुने जनाइएको छ ।