काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुसन्धानका निम्ति गठित संसदीय उपसमितिले प्रतिवेदन सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई हस्तान्तररिएको छ ।
संघीय संसदको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिनका लागि उपसमिति गठन गरेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले ९ महिना अध्ययन गरेर प्रतिवेदन तयार गरेको थियो ।
विमानस्थल निर्माणका क्रममा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै उपसमितिले तयार पारेको प्रतिवेदनमा केही सदस्यले रायसहित हस्ताक्षर गरेका छन् । विमानस्थल सम्बन्धी प्रतिवेदन वैशाख ३ मा नै तयार पारेको थियो । प्रतिवेदनमा उपसमिति संयोजक राजेन्द्र लिङ्देन, समिति सदस्य तथा कांग्रेस सांसद अर्जुननरसिंह केसी, माओवादीका जनार्दन शर्मा र अमनलाल मोदी तथा एकीकृत समाजवादीका प्रेम आले, कांग्रेसका सांसदहरू दीपक गिरी, देवप्रसाद तिमल्सेना र रामकृष्ण यादवले हस्ताक्षर गरेका छन् ।
एमालेका दुई सांसदले गोकुल बाँस्कोटा र तारा लामा तामाङले प्रतिवेदनमा थप राय व्यक्त राय दर्ता गराउँदै प्रतिवेदनमा हस्ताक्षर गरेका छन् ।विमानस्थल उद्घाटन र हस्तान्तरण कुन आधारमा किन र कसरी गरियो भन्ने विषय समेत यकिन गरी कानुनी कारबाहीका निम्ति सिफारिस गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
उक्त उपसमितिमा बास्कोटासँगै सांसदहरू लेखनाथ दाहाल, अर्जुननरसिंह केसी, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य थिए ।