
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
अपराहन्न १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
आजको बैठकमा विभिन्न ११ वटा कार्यसूची रहेका छन् । जसमा एउटा विधेयक र बाँकी अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
सरकारले आज यस अघि जारी गरिएको भुमिसम्बन्धी अध्यादेशबाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने भएको हो । सरकारमा रहेका सत्तारूढ दलहरुबीच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेशबाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भएबमोजिम संसदमा आज यी अध्यादेशहरू स्वीकृतिका लागि पेश गरिने छन् । पाँचवटा अध्यादेश पारित गर्न कांग्रेस र एमालले आफ्ना सांसदहरूलाई हिवप जारी गरिसकेको छ ।






