काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपाली पत्रिकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताएका छन् ।
प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताएका हुन् ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर, आँंगनसम्म पुर्याउने कामका लागि, शासन सञ्चालनमा बसेकाहरूलाई घच्घचाएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा तपाईँहरूले अझै जिम्मेवार भएर काम गर्नुहुनेछ भन्ने पनि विश्वास लिएको छु ।’
राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अंगका रुपमा सम्मान प्राप्त भएको स्पष्ट पारे ।
उनले भने, ‘जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र राज्यको चौथो अङ्गको रुपमा पत्रकारिता जगतले पाएको सम्मानलाई जीवन्त राख्न सक्दछ भन्ने ठान्दछु । यसमा नेपाली पत्रकारहरू सचेत र सजग हुनुहुन्छ भन्ने विश्वास लिएको छु । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार यी तीन वटै लोकतन्त्रका आधारस्तम्भ हुन् ।’
उनले प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयम्ले निष्पक्ष, स्वतन्त्र तथा सिर्जनात्मक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।
उनले भने, ‘पत्रकारिताको विश्वसनीयता कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न काउन्सिलजस्ता निकाय स्थापना गरेर समयानुकल आचारसंहिता बनाउने तथा कार्यान्वयन भए–नभएको अनुगमन गर्ने जिम्मेवारी प्रदान गरिएको हो ।’
राष्ट्रपति पौडेलले सूचना प्रविधि र इन्टरनेटको विकाससँगै अनलाइन न्यूजपोर्टल र सामाजिक सञ्जालको विकासले तिव्र सूचना प्राप्तिको आम मानिसको चाहनालाई पूरा गर्न मद्दत गरेको बताउँदै सत्यतथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण नै आमसञ्चार माध्यमको व्यवसायिक र प्राथमिक दायित्व भएको स्मरण गराए ।
उनले न्यू मिडिया र बढ्दो सामाजिक सञ्जालसँगै तिव्र सूचना सम्प्रेषण गर्ने प्रतिस्पर्धाले गलत सूचना प्रवाह हुनेतर्फ सचेत हुनुपर्ने आजको आवश्यकता भएको बताउँदै यसतर्फ प्रेस काउन्सिलजस्ता अनुगमनको जिम्मेवारी पाएको अभिभावकीय संस्थाले प्रमुख र प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले काउन्सिललाई अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने लोकतन्त्रको मूल मान्यताप्रति गम्भीर बन्दै मिथ्या र गलत सूचना संप्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने अहिलेको चुनौतिको सजगतापूवर्क सामना गर्नका लागि शुभकामना दिए ।
काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अखण्ड भण्डारीलाई र प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्री सिग्देललाई प्रदान गरेका थिए । साथै काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव विभिन्न व्यक्तिहरूलाई सम्मान गरेका थिए ।