ओडिशाको समुद्री छालले छुन आउने शीतल हावासँगै Creativity International Winter Art Festival 2025 डाग्रा नेचर क्याम्प, जलेश्वर–बालासोरमा शुक्रबारदेखि सुरु भएको छ। नोभेम्बर १३ देखि १६ सम्म सञ्चालन हुने यो चार दिने कला–उत्सव Jaleswar Art Foundation द्वारा आयोजना गरिएको हो। वातावरणमैत्री कला–यात्राको रुपमा प्रस्तुत गरिएको यो महोत्सवले प्रकृति, सिर्जनशीलता र अन्तर्राष्ट्रिय सहकार्यलाई एउटै मञ्चमा जोडेको छ।

नेपाल, भारत, बंगलादेशलगायत देशका कलाकारहरूको उपस्थिति रहेको कार्यक्रममा नेपालबाट दिपेन्द्रमान बनेपाली, चन्द्रा श्रेष्ठ, चन्द्रमान डंगोल र जया शर्मा सहभागी छन्। उद्घाटन समारोहमा आयोजक मुक्तिले अतिथि कलाकारहरूलाई तस्बिरसहितको पोर्ट्रेट, फूलको गुच्छा र टी–सर्ट प्रदान गरेर सम्मान गरे।
रमाइलो र न्यानो वातावरणबीच क्यानभासहरू रंगिन थाले।
— कलाकार चन्द्राले समुद्र र छालको उर्जामय चित्र बनाइन्।
— दिपेन्द्रले नेपाली जनजीवन र संस्कृतिको रंगीन कथा क्यानभासमा उतारे।
— जयाले सुनौलो टोनमा आधारित आधुनिक शैलीको मनमोहक चित्र प्रस्तुत गरिन्।
— भारतीय कलाकार लिप्सिटाले प्रेम–भक्तिको प्रतीक राधा–कृष्ण चित्र कोरेर दर्शकको ध्यान तानिन्।

डाग्रा नेचर क्याम्पको हरियाली, जंगल र समुद्री मुडुभावले कलाकारहरूलाई थप प्रेरित गरिरहेको छ। कला, संस्कृति र प्रकृतिको घनिष्ट सम्बन्धलाई उत्सवमय ढङ्गले प्रस्तुत गर्ने यो कार्यक्रम कलाकारहरूबीच अन्तरसंवाद र सिर्जनात्मक आदान–प्रदानको अनमोल अवसर बनेको छ।

नेपालको कला–सांस्कृतिक प्रतिनिधित्व गर्दै यो यात्रामा पत्रकारका रूपमा सहभागी हुनु गर्वको क्षण हो।