काठमाडौं । ध्यान र बौद्ध धर्म अभ्यास गर्नेहरूका लागि अत्यन्त उपयोगी तिब्बती लिपि (सम्भोट लिपि) सिकाउने विशेष कक्षा स्वयम्भूस्थित बुद्ध प्रकाश फाउन्डेशनमा सुरु हुँदैछ । ध्यान साधनामा समर्पित अन्तर्राष्ट्रिय ख्यातिप्राप्त तिब्बती बौद्ध साधकहरू मिङ्ग्युर रिन्पोछे र छोक्न्यी रिन्पोछेको मार्गदर्शनमा यो कक्षा सञ्चालन हुनेछ । कक्षा यही असार २५ गतेदेखि साउन २३ गते (८ जून–७ जुलाई) सम्म चल्नेछ ।
तिब्बती बौद्ध परम्परामा सम्भोट लिपिलाई अत्यन्त महत्वपूर्ण मानिन्छ । धर्म अभ्यास र ध्यान सम्बन्धी साधनाहरू मूल रूपमा यही लिपिमा लेखिएका हुनाले तिब्बती अक्षरको ज्ञानले कुनै पनि धर्मअनुरागीलाई ग्रन्थको सन्देश मूल भाषामै बुझ्न र ध्यान साधना गर्न मद्दत पुर्याउँछ । कक्षा हरेक शनिबारदेखि बिहीबारसम्म,( साँझ ५:३० देखि ६:३० बजे ) सम्म हुनेछ।
प्रसिद्ध बौद्ध साधक तथा प्राज्ञ लोचावा पुण्यप्रसाद पराजुलीले उक्त कक्षा सञ्चालन गर्नेछन् । उहाले ६० भन्दा बढी साधना ग्रन्थहरू तिब्बतीबाट नेपालीमा अनुवाद गरिसकेका छन् । साथै उनले छोकी निमा रिन्पोछे, मिङ्ग्युर रिन्पोछे, झोङ्सार ख्येन्त्से रिन्पोछे र छोक्न्यी रिन्पोछेजस्ता गुरुहरूका लागि अनुवादकको रूपमा सेवा गरेका छन् । हाल उनी अमेरिकास्थित कार्लेटन कलेजको बोधगया कार्यक्रमका अतिथि प्राध्यापक हुन् ।
योग्य र इच्छुक स्थानीय बासिन्दाहरूका लागि छात्रवृत्तिको सुविधा पनि उपलब्ध रहेको आयोजकले जनाएको छ ।
आयोजक बुद्ध प्रकाश फाउन्डेशनका अनुसार, “तिब्बती लिपिको ज्ञानले न केवल साधनाको गहिराई बढाउँछ, धर्ममा प्रत्यक्ष अनुभव र गहिराइ ल्याउन पनि सहयोग गर्नेछ ।”
अनुभवी शिक्षक र अनुभूतिपूर्ण शिक्षण विधिबाट सञ्चालन हुने यो कक्षा तिब्बती बौद्ध साधनाप्रति रुचि हुने जो कोहीका लागि एउटा सुनौलो अवसर हुने विश्वास गरिएको छ ।