काठमाडौं। प्रधानमन्त्री केपी ओलीले शिक्षामा बजेट वृद्धि गरेर विद्यालय शिक्षा विधेयक पारित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नयाँ शैक्षिकसत्रको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दीगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छ ।’
उनले अगाडि भने-‘अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या करिब २० प्रतिशत रहेको छ । यो हाम्रा निम्ति दुःखको कुरा हो। गरिबीलाई न्यूनीकरण नगरेर हामी हाम्रो राष्ट्रिय लक्ष्यमा पुग्न सक्दैनौं । गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो।’
प्रधानमन्त्री ओलीले भने-‘हामीले हाम्रा बालबालिकाहरूलाई अब पनि विद्यालयबाहिर राख्न सक्दैनौं । अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहनत गर्नुपर्ने देखिएको छ ।
प्रधानमन्त्रीले शिक्षालाई स्थानीय ज्ञान,सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गरी रोजगारीका अवसर बढाउनुपर्नेमा जोड दिए ।