
काठमाडौं । आफ्नो स्थापनाकालको तीसौँ वर्षमा प्रवेश गरिसकेको बुढानीलकण्ठ- ३ अवस्थित बाल विकास बोर्डिङ हाइस्कुलले श्रीपञ्चमीको पावन अवसरमा सरस्वती पूजा ,अक्षरारम्भ तथा स्कुल महोत्सव भव्यताको साथ सम्पन्न गर्यो ।
बुढानीलकण्ठ नगरपालिकाका उपमेयरअनिता लामाको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त महोत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा निर्माण गरिएका विभिन्न विषयसँग सम्बन्धित आकर्षक प्रोजेक्टहरू प्रदर्शन गरिएका थिए ।
ब्याट्रीबाट चल्ने डोजर , रिमोटबाट चल्ने रोबोटलगायत पानीका झरनाहरू, धरहरा ,जल तथा वायुप्रदूषणका नमुना मोडेलहरूसमेत प्रदर्शन गरिएकाले महोत्सव निकै भव्य बनेको थियो ।

खेर जाने पदार्थहरूको सदुपयोग गरेर बनाइएका यस्ता खालका प्रोजेक्टहरूले एकातिर विद्यार्थीहरूलाई वातावरणमैत्री बन्न प्रोत्साहित गर्ने र अर्कोतिर विद्यार्थीका लुकेका प्रतिभा प्रस्फुटनमा ऊर्जा मिल्ने प्रतिक्रिया महोत्सवमा उपस्थित महानुभावहरूबाट प्राप्त भएको थियोे । महोत्सवमा अभिभावकहरु ,विभिन्न क्षेत्रसँग सम्बन्धित गन्यमान्य व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।
महोत्सवमा आफ्नो सारगर्भित भनाइ राख्दै प्रमुख अतिथि उपप्रमुख लामाले यस्ता खालका रचनात्मक कार्यक्रम आयोजना गरेकामा विद्यालयप्रति बधाई तथा शुभकामना पनि अर्पण गरेकी थिइन् ।उनले विद्यार्थीबाट निर्मित हस्तकलाका सामग्री पहिरेर विद्यार्थीलाई विशेष हौसला प्रदान गरिन्।

विद्यालयका यस्ता गतिविधिहरुबाट प्रभावित हुँदै बुढानीलकण्ठ नगरपालिकाले आयोजना गर्ने घरेलुु हस्तकला प्रदर्शनीमा बाल विकास बोर्डिङ हाइस्कुलका विद्यार्थीहरूद्वारा निर्मित सामग्रीको पनि स्टल राख्ने र साहित्यिक महोत्सवमा पनि उनीहरूद्वारा निर्मित फूलहरू प्रयोग गरिने कुरा उद्घोष गरेर बाल विकास बोर्डिङ हाइ स्कुललाई गौरवान्वित बनाउनुभएको कुरा विद्यालयका प्राचार्य श्री महेश कुमार श्रेष्ठले बताए ।
महोत्सवमा विद्यार्थी तथा अभिभावकज्यूबाट सुपथ मूल्यमा खानाको स्टल पनि राखिएका थिए ।
विद्यार्थीहरूले रमाइला खेल खेलाउँदै पुरस्कार वितरण गरेको दृश्यले महोत्सवको माहोललाई झनै तताएको थियो । साथै नयाँ विद्यार्थीलाई नि शुल्क भर्ना , नर्सरी र प्लेग्रुपमा भर्ना हुनेलाई एकजोर विद्यालय पोसाक वितरण र प्ले ग्रुप प्रवेश गर्नेलाई अक्षरारम्भको कार्य पनि गराइएको थियो । उपस्थित सबैलाई विद्याकी देवी सरस्वतीको प्रसाद वितरण गरी कार्यक्रम उल्लासमय ढङ्गले सम्पन्न भएको थियो ।





