काठमाडौँ । बंगलादेशले नेपालबाट लैजाने भनिएको ४० मेगावाट बिजुलीका निम्ति सम्झौताको कार्य अघि बढाउने नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगको भेटमा आइतबार चौधरीले बिजुली लैजान प्रक्रिया मिलाउने बारे कार्य भैइरहेको बताएका छन्।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका विविध विषयमा छलफल गरिएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको उल्लेख गरे । दुई देशबीचको सहकार्यलाई अझ ब्यापक बनाउन भेटले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
६८० मेगावाटको सुनकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणका निम्ति नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरको प्रक्रिया अगाडि बढाइएकामा दूतावासले आवश्यक पहल गर्ने पनि उनले भने ।