बाँके । ‘त्यो रात अझै सम्झिन्छु । लगातार पानी परिरहँदा घर चर्किन थालेको थियो । केही समयमै एक भाग भत्कियो । हामी सबैले ज्यान जोगाउन भाग्नुप¥यो । बच्चाहरू निकै डराएका थिए । त्यसपछि सबैभन्दा ठूलो चिन्ता फेरि घर कसरी बनाउने भन्ने थियो ।’ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी उत्तमसिंह पञ्जावीले गत वर्षको भदौमा आएको अविरल वर्षापछि आफूले भोगेको पीडा सुनाउँदै भने ।
वर्षौँको मेहनत र दुःखले बनाएको घर क्षतिग्रस्त भएपछि उनको परिवार लामो समय तनावमा रह्यो । आर्थिक अवस्था कमजोर भएका कारण तत्काल घर मर्मत गर्ने अवस्था पनि थिएन । परिवारलाई सुरक्षित राख्ने र पुनः घर निर्माणका लागि आवश्यक रकम जुटाउने चिन्ताले उनलाई सताइरह्यो । तर नेपालगञ्ज उपमहानगरपालिकाले लागू गरेको आवास बिमा कार्यक्रम उनका लागि संकटको समयमा ठूलो सहारा बन्यो ।
राष्ट्रिय बिमा कम्पनीमार्फत गरिएको बिमा अन्तर्गत उनले रु दुई लाख ३२ हजार ९ सय दाबी भुक्तानी प्राप्त गरे । रकम प्राप्त भएपछि उनको घर पुनः निर्माण सम्भव भएको छ । अहिले परिवार फेरि आफ्नै घरमा सुरक्षित रूपमा बस्न थालेको छ । पञ्जावी भन्छन्, ‘पहिले घरको बिमा किन गरिरहनुप¥यो र भन्ने लाग्थ्यो । तर जब आफ्नै आँखाअगाडि घर भत्कियो, त्यसपछि मात्रै बिमाको महत्त्व थाहा भयो । अहिले त्यही बिमाका कारण फेरि घरमा बस्ने अवस्था बनेको छ । विपद्को समयमा गरिब र न्यून आय भएका परिवारका लागि यस्तो कार्यक्रम साँच्चिकै ठूलो सहारा रहेछ ।’
नेपालगञ्ज उपमहानगरपालिकाले विपद्जन्य जोखिम न्यूनीकरणका लागि वडा नं ३ र ७ बाट आवास बिमा कार्यक्रम सुरु गरेको थियो । जोखिमयुक्त तथा कमजोर संरचनामा बसोबास गर्ने परिवारलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा हालसम्म एक सय ८४ परिवार आबद्ध भइसकेका छन् । पछिल्लो समय यस कार्यक्रमप्रति समुदायको विश्वास र आकर्षण बढ्दै गएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख प्रशान्त विष्टले विपद् आएपछि राहत बाँड्नेभन्दा विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने सोचका साथ कार्यक्रम सुरु गरिएको बताए । उनले भने,‘विपद् कहिले आउँछ भन्ने निश्चित हुँदैन । तर त्यसको असर कम गर्न पूर्वतयारी गर्न सकिन्छ । यही उद्देश्यले सुरु गरिएको आवास बिमा कार्यक्रम अहिले प्रभावकारी रूपमा अघि बढिरहेको छ ।’
उनका अनुसार सुरुमा दुई वडामा सीमित रहेको कार्यक्रम अहिले वडा नं ८ र ११ मा पनि विस्तार गरिएको छ । आगामी दिनमा नेपालगञ्जका सबै जोखिमयुक्त परिवारलाई कार्यक्रममा समेट्ने योजना रहेको उनले जानकारी दिए ।
नेपालगञ्जले सुरु गरेको यो कार्यक्रमबाट प्रभावित हुँदै नरैनापुर गाउँपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले पनि यसै आर्थिक वर्षदेखि यस्तै कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेका छन् । स्थानीय तहहरूले विपद् व्यवस्थापनमा दीर्घकालीन सुरक्षा उपायका रूपमा आवास बिमालाई प्राथमिकतामा राख्न थालेका हुन् ।
विपद् सम्पर्क व्यक्ति दिपेन्द्र श्रेष्ठले आवास बिमा कार्यक्रमले समुदायमा विपद्बारे सचेतना बढाउनुका साथै विपद्पछिको पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुगेको बताए । उनले भने,‘पहिला नागरिकले बिमा प्रक्रियालाई झन्झटको रूपमा हेर्थे । तर अहिले प्रत्यक्ष लाभ पाउन थालेपछि समुदायमा विश्वास बढ्दै गएको छ । अन्य स्थानीय तहले पनि यसलाई लागू गर्न चासो देखाउनु सकारात्मक पक्ष हो ।’
कार्यक्रमअन्तर्गत बिमाको प्रिमियम रकम उपमहानगरपालिकाले नै व्यहोर्ने गरेको छ । क्षतिको अवस्थाअनुसार बिमित परिवारलाई रु १५ लाखसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई विपद्पछि पुनःस्थापित हुन सहज बनाउने विश्वास गरिएको छ । स्थानीयवासीका अनुसार पछिल्ला वर्षहरूमा बाँकेमा अविरल वर्षा, डुबान र हावाहुरीका घटना बढ्दै गएका छन् ।
कमजोर संरचनामा बसोबास गर्ने परिवार यस्ता विपद्बाट बढी प्रभावित हुने गरेका छन् । यस्तो अवस्थामा आवास बिमा कार्यक्रमले जोखिम न्यूनीकरणका साथै विपद्पछिको पुनःस्थापनामा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । यस कार्यक्रम कार्यान्वयनमा विपद् पूर्वतयारी तथा व्यवस्थापनमा सञ्चालित सुपर कार्यक्रमले प्राविधिक सहयोग गर्दै आएको छ ।
रुपशिला थापा, नेपाल न्यूज बैंक