काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । यस दिन नेप्से झिनो अंकले बढेपछि कारोबार रकममा कमी आएको छ । आठ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गएको मंगलबार १० अर्ब ४३ करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
८१ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन जीवन बीमामा आकर्षण देखिएको छ । सो सेक्टर २.४२ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार समूह सबैभन्दा धेरै ३.७७ प्रतिशत बढ्यो ।
निर्जीवन बीमा ०.६४, अन्य ०.५७ प्रतिशत बढे । घटेका सेक्टरको गिरावट दर १ प्रतिशतभन्दा न्यून रह्यो । बैंकिङ ०.५५, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.७५, लगानी ०.३७, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.३० प्रतिशत घटे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ९.६९, अपरहेवाखोलाको ९.१४, लक्ष्मी लघुवित्तको ८.२१ तथा उपकार लघुवित्तको ८.१ प्रतिशत मूल्य बढ्यो । बाराही हाइड्रोपावरको ८.३५, भूगोल इनर्जीको ५.७८ तथा दिव्यश्वरी हाइड्रोपावरको ४.१२ प्रतिशत मूल्य घट्यो ।
