काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायले जिम्मेवारी सम्हालेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिवको सरूवा गर्ने निर्णय गरेको थियो।
त्यस्तै अर्थसचिवमा रहेका सचिव रामप्रसाद घिमिरे भने राष्ट्रपतिको कार्यालयमा सरूवा भएका छन्।
अर्थमन्त्रालयमा मंगलबार एक कार्यक्रम गरी उपाध्यायलाई स्वागत र घिमिरेलाई बिदाइ गरिएको छ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव उपाध्यायको प्रशासनिक नेतृत्वमा अर्थ मन्त्रालयसँग राष्ट्र र जनताले गरेको अपेक्षा पूरा हुने विश्वास व्यक्त गरे।
अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा डा. घिमिरले अर्थतन्त्रलाई अनुशासित र गतिशील बनाउन इमान्दारीपूर्वक योगदान पुर्याएको उल्लेख गरे।
अर्थ सचिव उपाध्यायले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधानमन्त्री एवं अर्थमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै राजस्व वृद्धि, पुँजीगत खर्च वृद्धि, अनावश्यक खर्च कटौती, उत्पादन वृद्धि लगायतमा काम गर्दै थप लगानीका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।