समीकरण भनेको तराजु जस्तै हो । एकातिर ढक राखिन्छ र अर्कोतिर वस्तु राखेर काँटाले ठीक बराबर हुने गरी जोखेको छ भनी संकेत गर्दछ । यो कुरा बजारमा किनमेल गर्नेले देख्ने नै भयो किनमेल गर्न नपर्नेहरूले पनि तराजु कस्तो हुन्छ भन्ने कुरा बुझेकै हुन्छन् । अझ सुन पसलमा त एक रत्तिलाल पनि फरक नपर्ने गरी सुन जोखी रहेका हुन्छन् । त्यो पनि एक पटक हो र एक तोला सुन ‘जोख्न दश चोटी जोखी रहेका हुन्छन् ।
त्यस्तै कुनै पनि समीकरणको हिसाव गर्दा बराबरलाई (=) इजइक्वेलले संकेत देखाइएका हुन्छन् । समीकरणको हिसाव गर्दा इजइक्वेलको अगाडि र पछाडि मानौं शून्य दशमलवको पछाडि सयौं अङ्क पछि पनि १ मात्र पनि फरक पर्नु हुँदैन । बजारमा आलु जोख्दा अलि फरक भए पनि लेनदेन गर्दा सह्य हुन्छ भने समीकरणको हिसावमा दशवटा शून्यको पछाडि एक आए पनि हिसाव मिल्यो भन्दैन । यो कुरा हाइस्कूल पास गरी सकेकाहरूलाई भनिरहनु जरुरी छैन ।
बिडम्वना कै कुरा छ नेपालसंवत्को क्यालेण्डर बनाउँदै आउनेहरू हाइस्कूल पास नगरेका कोही पनि छैनन् तैपनि समीकरणको हिसाव फिटिक्कै बुझेको हो जस्तो लागेको छैन तर कतिले त अझै पनि बुझे पनि नबुझे जस्तो गर्लान् नै तर यो समीकरणको हिसाव जानेबुझेका व्यक्तिहरूले अझै बेवास्ता नै गर्लान् अतः यो केवल बुझ्न चाहने जिज्ञासुहरूको लागि भनेर मात्र राख्न चाहेको हो किन समीकरणको हिसाव अघि सारेको भन्ने कुरा तल गएर अवश्य बुझ्नु हुने छ । समीकरणको हिसाव
समीकरणको हिसाव
क = ख ( मानौं क र ख बराबर छ )
अथवा, क भनेको वि.सं २०८० = ख भनेको ने. सं. ११४४ ( यो वर्ष २०८० पनि हो र ११४४ पनि हो )
अथवा २०८०-४४= ११४४- ४४
अथवा २०३६ = ११००( नेसं ११०० हुँदा वि. सं २०३६ )
अथवा २०३६+४४ = ११०० + ४४
अथवा ४४ १ वर्ष = ४४ १ वर्ष
अथवा ४४ ३६५ = ४४ ३५४ ( अगाडिको विसंमा भने ३६५ को पिण्ड झुण्ड्याउने पछाडि नेसमा चाहिँ ३५४ को पिण्ड झुण्ड्याउने समीकरण कुनै हालतमा बराबर भएन )
अथवा २०३६ सालको ४४ वर्ष पछि
२०८० साल भयो यसमा १६०६०
दिन हुन आयो =११४४ सालको ४४ वर्ष पछि १५५७६ दिन मात्र हुन आयो (यहाँ समीकरण बराबर भएन, १६०६० – १५५७६ को अन्तर ४८४ दिन हुन आयो, यो भनेको १ वर्ष ११९ दिन हुने भयो र ११९ दिन भनेको ३ महिना २९ दिन )
त्यसकारण विक्रमसंवत् र नेपालसंवत् सँगसँगै चलिरहेको छ । तापनि ४४ वर्ष भित्र ४८४ दिन कहाँ हरायो । नेपालसंवत्को क्यालेण्डरमा त जहिलेपनि ३५४ दिन मात्र राखेर बनाइएको छ । नेपालसंवत्को क्यालेण्डर बनाउँदा चाहे संतिकोड प्रयोग गरेर बनाउनेहरू होऊन या चाहे नगरीकनै बनाउंदै आएका हुन् । उनीहरूले ४८४ दिन कहाँ लगेर मिलान गरेको छ, कहाँनिर सम्वोधन गरिएको छ, बताउन किन सक्दैन ? अचम्म यसमा हो ।बास्तवमा नेपालसंवत्मा केवल चान्द्रमास मात्र होइन यसमा सौरमास पनि छ भन्ने यथार्थलाई कहिल्यै बुझेनन् र यसलाई जहिले पनि अनदेखा गर्दै आउनु नै यो हविगतको प्रमुख कारण हो ।
समस्या
यहाँ समस्या इतिहास, संस्कृति ज्योतिष एवं सिद्धान्त कुनैमा पनि होइन । केवल मान्छेको बुझाइ, अपनाउने रुचि स्वार्थ मात्रैमा निर्भर रहँदै आएको देखिन्छ । यो समस्या फेरि एक दुइ मात्र होइनन् अनगिन्ती छन् । तैपनि केही समस्याका बुँदाहरू यस प्रकारका छन् ।
१. मान्छेहरू यथार्थ र आफनो विवेक प्रयोग गर्नेतिर होइन । विद्वान भनाउँदा मान्छेले भनेको भनेपछि पुग्यो । त्यसमै आँखा चिम्लेर पछ्याउने प्रवृत्ति भनौं या मनोरोग बिकराल रूपमा छ ।
२. गणित भनेको एउटा विज्ञान हो तर लामोलामो गणिततिर जानै पर्दैन । डिसेम्वरदेखि जूनसम्म महिना गन्दै गइयो भने जून सातौं महिना हुन्छ भनेर बुझाउन खोजेको त्यसमै पनि महाभारत नै खडा भए । यसमा सात होइन छ महिना मात्रै हुने हो भनेर जिद्दी गर्छन । होइन सात महिना नै हुने हो भनी त्यसमा ज्यान गए नि बुझाउन सकिएन । यस्तो परिस्थिति पनि आई पर्छन् भने लामो गणित कसरी बुझाउन सकिएला, कठिन छ ।
३. जुन वेला नेपालसंवत राष्ट्रले व्यवहार गर्थे त्योवेला अधिमास मान्न मात्र होइन ग्रहण मान्ने चलन र संक्रान्ति मान्ने चलन समेत सँगसँगै व्यवहार हुन्थे । अतः नेपालसंवतमा सौरमान र चान्द्रमान दुवै सक्रीय थिए भनेर जति भने पनि पत्याउने कोही छैन । उनीहरू एक तमासले नेपालसंवत् चान्द्रमासको संवत नै हो भनेर मान्नुमा एक इन्च तल झरेर सोच्ने सोच कसैको देखिएकै छैन ।
४. सौरमानको वर्षमा ३६५ दिन हुन्छ र चान्द्रमानको वर्षमा ३५४ दिन हुन्छ हो । यो होइन कसैले भनेको छैन । यहाँ बारम्वार नेपालसंवत्को विषयमा लेख प्रकाशित गरी सकेको छ । ती लेखमा चान्द्रमासमा ३५४ दिन हुने हो तर नेपालसंवत् चान्द्रमासको वर्ष मात्र होइन सौरमान पनि उपस्थित छ । किनकि यसमा संक्रान्ति पर्व पनि छन् भनेर लेखेको कुरा कसैको कानको छेउसम्म पनि ठोक्किन सकेको देखिएकै छैन ।
५. कोही त ११३५ नेपालसंवत्मा अनला (अधिमास) परेको हुँदा त्योवर्ष १३ महिना भएकोले त्यो वर्ष ३९० दिन भएको कुरा उठाएका छन् । यही २०८० सालको साउनमा अनला परेको थियो। नत २०८० मा ३९० दिन भएको दे खाउन सके न त ११४३ मा ३९० दिन देखाउन सकेका छन् । यस्तो उट्पटाङ्ग कुरा मात्रै गरेर भएन नि । कुनै तथ्य परक भएर विज्ञान र इतिहास सम्मत कुरा गर्ने भन्ने नै छैन ।
६. इतिहासका स्रोत भनेका के हुन् ? जे कुरा आफुले खोजि गरिरहेको हो त्यो कुरा प्रत्यक्ष रूपमा त्यसमा उल्लेख भएको स्रोत पो स्रोत कहलिन्छ । शिलालेख, तामापत्र, ताडपत्र, हस्तलिखित ग्रन्थ कुनै लेनदेनका कागजात लगायत असंख्य मात्रामा स्वदेश तथा विदेशमा रहेका समेत स्रोतमा नेपालसंवत् प्रयोग भइरहेका छन् भने ती सबै नेपालसंवत्को स्रोत हुन सक्छन् । ती स्रोतहरू प्रयाप्त हुँदाहुँदै कुनै शिलालेखको पाठ बिगारेर कृतिम शिलालेख तयार गरेर राखेका पनि हुन्छन् यस्तो कार्यले उल्टो नेपालसंवतलाई विवादास्पद खाल्डोमा धकेलिन्छ भन्नेसम्म पनि सोच कसैले राख्ने गरेको छैन ।
७. इतिहासका तात्कालीक स्रोतले के कुरा दर्शाउँछ ? त्यसलाई सटिक रूपमा रिनु पर्छ भन्ने कुरा नै नेपालका इतिहासकारहरूमा छैन । ती इतिहासकारहरूको नजरमा नेपालसंवत्को हेराइ कस्तो होला ? त्यत्तिले पनि थाहा हुन्छ त्यस प्रकारका इतिहासकारबाट नेपालसंवत् हितको पक्षमा केही आउला भन्ने आशा को किरण देखिएकै छैन ।
८. हरेक व्यक्तिको परिचय जान्न तीन पुस्ते खुलाउनु पर्छ भने झैं अरू विषयको पनि अघिल्लो कुरा नबुझीकन त्यस बारेमा जानेको भन्न कदापि मिल्दैन । त्यसकारण नेपालसंवत्को पनि पृष्ठभूमिको बारेमा कुनै जानकारी नै नलिइकन जसलाई जे मन लाग्यो त्यही ढंगले यो यस्तो ऊ यस्तो गरेर बखान गर्दै आउनुको कुनै औचित्य छैन । त्यसरी कुनै जानकारी नै नराख्नेहरूले क्यालेण्डर बनाउँदै आएको मात्र देखिएको छ । त्यसैले यही पाराले गइयो भने प्रयोगजन्य सिद्ध हुने कुनै आशा नै छैन ।
यस्ता बुँदाहरू खोतल्दै जाने हो भने कति छन् कति बयान गरेर साध्य नै छैन । हरेक वर्ष बिभिन्न संघसंस्थाहरूले नेपालसंवत्को क्यालेण्डर भन्दै प्रचार गर्दै आइरहेका छन् । ती क्यालेण्डर एउटा पनि व्यवहार योग्य सिद्ध छैनन् ।कमसेकम यी औंल्याइएका समस्यालाई मन र मस्तिष्कले अनुभूति गरी महशूसमात्र गरियो भने पनि सुधार कसरी गर्ने भन्ने मार्ग प्रशस्त हुन सक्छ ।अन्यथा अहिलेसम्म जसरी मनको लड्डु घिउसित खाएर बसेका जस्तै छौं । त्यस्तै हुनु बाहेक अरू हुने संभावना छँदै छैन ।
समस्या समाधान गर्ने उपाय
कमसेकम यी औंल्याइएका समस्यालाई मन र मस्तिष्कले अनुभूति गरी महशूसमात्र गरियो भने पनि सुधार कसरी गर्ने भन्ने मार्ग प्रशस्त हुन सक्छ। अन्यथा अहिलेसम्म जसरी मनको लड्डु घिउसित खाएर बसेका जस्तै छौं । त्यस्तै हुनु बाहेक अरू हुने संभावना छँदै छैन ।
१. नेपालसंवत्को बारेमा विद्वान कहलिएकाहरूले कुन स्रोतमा टेकेर के लेखे ? ती स्रोत तात्कालीक एवं प्रमाणिक हो वा होइन ? त्यसमा ध्यान दिने हो त्यसपछि मात्र उनको भनाइ ठीक जँचिन आए लिने नत्र छोड्ने गर्नु पर्छ ।
२. जनवरी फरवरी लेखेर १२ वटा कार्ड बनायौं भने डिसेम्वर देखि जून सम्मको कार्ड एउटा हातमा र जून पछाडिको अरू कार्ड अर्को हातमा लियौं भने एक हातमा ७ पत्ति कार्ड र अर्को हातमा ५ पत्ति कार्ड मात्रै पर्छ । दुइटा हातमा ६।६ पत्ति पर्दै पर्दैन । यति सामान्य हिसाव त नबुझ्नेहरूवा बुझ्न नचाहने छन् भने तारिख गणना तिथिमिति गणना सूर्यसिद्धान्त आर्यसिद्धान्त ब्रह्मसिद्धान्त भन्ने कुरा कति कोश टाढा छन् होला सोझै अनुमान गर्न सकिन्छ । यी कुरा बुझ्ने जनशक्ति तयार भएन भने पनि अति कठिन हुन्छ ।
३. नेपालसंवतमा सौरमान र चान्द्रमान दुवै समाहित छन् भन्ने कुरा त्यसमा ग्रहण र संक्रान्तिको उपस्थिति देखेरै भन्न सकिने कुरा हुँदाहुँदै यतातिर नजरै दिँदैनन् भने यस्तो स्थिति छउञ्जेल, महशूस गर्नै नचाहनेहरूलाई सिकाउन सकिँदैन ।
४. सौरमानको वर्षमा ३६५ दिन हुन्छ र चान्द्रमानको वर्षमा ३५४ दिन हुन्छ यो मात्र बुझेर पुग्दैन । नेपालसंवत् सौरमान पनि हो चान्द्रमान पनि हो भन्ने महशूस नभएसम्म कठिन नै छ ।
५. नेपालसंवत्लाई चान्द्रमासको नजरलेमात्र हेरियो भने गत ११४३ मा अनला (अधिमास ) परेकोले शुद्ध श्रावण र अधिक श्रावण देखेर त्योवर्ष दृष्टि भ्रम भएर १३ महिना देख्न पुग्छ। सौरमानको नजरले हेरियो भने श्रावणको १ गते र भाद्रको १ गते यी दुई संक्रान्तिको बीचमा एक चान्द्रमास परेको देखिन्छ । यदि नेपालसंवत् विशुद्ध चान्द्रमास मात्रै हो भने त्यसमा संक्रान्ति भन्ने हुँदै हुँदैन जव संक्रान्ति प्रत्यक्ष छ भने दुईटा श्रावण मध्ये एउटा भाद्र रहेछ भनी देखादेख पनि १३ महिनाको कल्पना गर्ने मानसिकता रही रहुञ्जेल बुझाउन असम्भव छ ।
६. स्वदेश तथा विदेशमा रहेका ऐतिहासिक स्रोतहरूमा नेपालसंवत् प्रयोग भइरहेको प्रत्यक्ष छन् । ती स्रोतहरूमा आफूले चाहेको कुरा पाइएन भन्दैमा कुनै एउटा स्रोतलाई बिगारेर आफ्नो चाहना अनुकूलको बनाउँदा नेपालसंवतको मर्म नै मर्छ भन्ने सोचाइ नभएका जनहरू हुञ्जेल असम्भव नै छ ।
७. शिलालेख तामापत्र ताडपत्र लिखत कागजात भनेका इतिहासका तात्कालिक स्रोत हुन् र वंशावली भनेका इतिहासका स्रोत हुन् तर ती तात्कालिक होइनन् । परवर्तीकालमा बनेका स्रोतमा टेकेर हजारौ वर्ष अघिको कुरा निर्णय गर्न चाहन्छन् भने त्यो गलत हो भन्ने सामान्य ज्ञानलाई पनि नबुझ्नेहरू हुञ्जे ल संभव नै छैन ।
८. नेपालसंवतको उत्पत्ति जुनबेला भयो त्योवेला संसारमा अरू कुनै पनि संवत्को शुरुवात नै भएको छैन भन्ने प्रमाण कसैसँग छैन । जव यस्तो प्रमाण छैन भनेर थाहा भए पछि नेपाल मै पनि नेपालसंवत् शुरु हुनु अघि संवत् प्रचलन थियो भन्ने प्रष्ट हुन्छ । हो जसरी मान्छेको तीन पुस्ता ले उसको वास्तविक परिचय खुल्छ भने झैँ नेपालसंवत् शुरु हुन अघि चलेका संवत्को तथ्य चिनारी नभइकन नेपालसंवत्को वास्तविक चिनारी बन्दैन । त्यसमाथि नेपालमा शकसंवत् र मानदेव संवत् चले त्यो मानदेव संवत् पनि ३०४ वर्ष चले भन्ने घेरा भित्र मात्र रुमलिएर कुहिरोको काग बनी रहुञ्जेल संभव नै हुँदैन ।
यस प्रकारनेपालसंवतलाई यी समस्याबाट उन्मुक्ति दिलाउने हो भने अर्थात् माथिका यी मोटामोटी उपाय अवलम्वन गर्ने हो तव मान्छेहरूमा धारणाहरू स्वतः स्फूर्त सच्चिने संभावना बन्छ ।
निष्कर्ष
माथिको समीकरणले नेपालसंवत्को समानान्तरमा विक्रमसंवत् पनि नेपालमा चलेको देखाइएको छ। नेपालसंवत् उठान हुनु भन्दा ९३५ वर्ष अघि उठान भएको संवत् भनेर देखाइए तापनि विक्रमसंवत् नेपालसंवत्को कालान्तरमा आएरमात्र प्रचलन देखिएको भन्ने त सर्वविदित नै छ । नेपालसंवत्मा ग्रहणको हिसाव, संक्रान्तिको हिसाव, अधिमासको हिसाव अघिदेखि नै विद्यमान भइरहेको देखेर विक्रमसंवत्लाई सौरमान अनुरूपको बनाई नेपालसंवत् सित छुट्टै भिन्नै देखिने गरीपछि आएर मात्र प्रस्तुत गरिएको देखिन्छ । राजा त्रिभुवनको पालासम्मको अभिलेखहरू नियालेर हेर्ने हो भने विक्रमसंवत्मा पनि नेपालसंवत्मा जस्तै महिना तिथि बार नै लेख्ने चलन रहेको प्रशस्त उदाहरणहरूपाइन्छ । यदि विक्रमसंवत् शुरु देखि सौरमास अनुरूपका संवत् भएको भए शुरु देखि गते लेख्ने गरिएको पाइनु पर्ने हो, तर पाइदैन ।
विक्रमसंवत्ले गते लेख्ने प्रचलन शुरु गर्नुभन्दा धेरै अघिदेखि नै नेपालसंवत्मा गतेको उपस्थिति थियो भन्ने कुरा संक्रान्तिको उपस्थितिले नै जनाइरहेको प्रमाण यथेष्ट छन् ।
माथिको समीकरणले नेपालसंवतलाई विक्रमसंवत्को समानान्तर पनि मान्ने तर विक्रमसंवत्लाई भने ३६५ दिनको एक वर्ष भन्ने आफनो चाहिँ ३५४ दिनको १ वर्ष मानेर आफै खुम्चिएर नेपालसंवत्लाई प्रयोगजन्य हुनबाट बञ्चित गराउँदै आएको नेपालसंवतका पक्षधरहरूले नै बुझ्नसकेन भन्ने कुरा प्रष्ट हुनआएको छ । किनकि ४४ वर्षभित्र विक्रमसंवत्सित समानान्तरमा चलेको देखाउने तर ४८४ दिन को हिसाव भने कता लुकाएको भन्न नसक्नुले बोध गर्दछ कि वास्तवमा ४८४ दिन आफ्नै हीनताबोधले घटाएको भन्ने प्रष्ट हुन्छ । यदि साँच्चै ४८४ दिन घटी भएको वर्ष विक्रमसंवत्को ४४ वर्ष बित्दा नेपाल संवत्को ४५ वर्ष ३ महिना २९ दिनले जेठो छु भन्न सक्नु पर्ने भन्न सकेनन् । विक्रमसंवत् आजभन्दा ४४ वर्ष अघि २०३६ थियो भने नेपालसंवत् पनि १९०० साल मात्र भन्न जानेको कुरा माथिका समीकरण हिसावले प्रष्ट गर्दछ ।
वास्तवमा ४४ वर्षमा विक्रमसंवत् १६०६० ( सोह्रहजारसाठी) दिन बितेको छ भने नेपालसंवत् पनि १६०६० दिन नै बितेको हो । इजइक्वेलटू को अगाडि १६०६० छ भने पछाडि पनि १६०६० दिन नै छ । नेवारहरूले आफैले हीनताबोध ठानेर ४८४ दिन कम १५५७६ दिनको फाँटवारी मात्र पेश गर्दै बेरुजुपन प्रकट गर्दै आएको खुलासा समीकरणले प्रष्ट गर्दछ ।
त्यसकारण नेपालसंवत् पनि निसंकोचका साथ भन्नु पर्दछ कि यसमा ३६५ दिन नै छ । ३५४ दिन भनेर खुम्चनु आवश्यक छँदै छैन । त्यसरी सूझनबूझ ढंगले नेपालसंवत् चान्द्रमानको वर्ष हो यसमा ३५४ दिन मात्र हुन्छ भन्नुको कुनै तुक छैन ।
अव ३६५ दिनको क्यालेण्डर कसरी बनाउने त भन्ने सवाल उठ्ला एकदम सजिलो छ किनकि एउटा ठूलो रुमाल माथि सानो रुमाल खप्टाउन सकिन्छ भने कार्तिक शुक्ल प्रतिपदाको दिन जुन गते पर्दछ त्यहाँदेखि ३६५ दिन लिएर त्यो ठूलो रुमाल सम्झीकन अहिलेको क्यालेण्डर खप्टाइ दिने हो । यसमा कुनै संकोच मान्नै पर्दैन । नेपाल आमा र नेपालसंवत्को जय जय होस् ।