असंभव कुरामा तर्क वितर्क गर्नु केवल आफ्नो बहूमूल्य समय बरवाद गर्नु हो । जस्तो सूर्य जहिले पनि पूर्वबाट मात्रै उदाउँछ झुक्केर अरु दिशाबाट उदाउन पनि सक्छ भनेर कसैले तर्क गर्छ भने त्यो असंभव कुरा हो यसमा तर्क वितर्क गर्न खोजे त्यो कुतर्क मात्र सावित हुन्छ । त्यस्तै भनेझैं बिजुलीको मिटर ० बाट शुरु हुन्छ भनेजस्तैे संवत् भन्ने कुरा मात्र ० बाट शुरु नहुनुपर्ने किन ? भनेर तर्क गर्नेहरु देखियो भने त्यो पनि कुतर्क सिवाय अरु हो भन्न सकिन्न ।
यही सन्दर्भ ० बाट शुरु भएको संवत् वर्तमान संवत् भन्नु पर्ने भने १ बाट शुरु भएको संवत् प्रवर्तमान भन्नु पर्ने भनेर कसैले भनीरहेको देखियो भने त्यसलाई कुन नजरले हेर्ने ? यो कुरा हामी बीच चुनौति भएर खडा भएको छ ।
हुनत इस्वीसंवत् भनौं अथवा नेपालसंवत् नै भनौं यी संवत्को शुरु १ बाटै भएको हो ० बाट होइन । त्यतिमात्र होइन दुनियाँका जतिपनि संवत् छन् तिनीहरुको शुरु पनि १ बाट भएको हो । जहाँसम्म लाग्छ शून्यबाट शुरु भएको संवत् कुनै छ भन्ने कसैलाई लागेको पनि छैन र कसैले यो छ भनेर अहिलेसम्म एउटा नमुना स्वरुप देखाउन सकेको पनि होइन ।
यसले के संकेत गर्दछ भने लिच्छविकालमा चलेको संवत्लाई हिजोसम्म शकसंवत् नै हो भनेर मान्दै आएको थियो भने त्यो आज गलत सावित भएको छ । किनभने गोकर्ण बालुवा गाउँको संवत् ५३६को अंशुवर्माको अभिलेख त्यसको लागि ज्वलन्त प्रमाण हो । भनाइको मतलव संवत् ५३६ लाई कुनैपनि आधारबाट शकसंवत् हो भन्ने बाटो भेटिएन । तब वर्तमान शक र प्रवर्तमान शक भनेर एकजना लेखक टुप्लुक्क देखापर्न आए । त्यसरी टुप्लिकिन आएको व्यक्ति इतिहास पृष्ठभूमिको व्यक्ति थिएनन र गोकर्ण बालुवा गाउँको अभिलेख पहिलो प्रकाश गर्ने व्यक्ति पनि उनी होइनन् ।
यो अभिलेख पहिलो प्रकाश गर्नेले नै अभिलेखमा भएको संवत् ५३६ लाई शकपूर्व २ याने एउटा चैत्रादि अर्को कार्तिकादि भएकोले यी दुई बीच १ वर्ष ५ महिना फरक छ भनी ठम्याइ दिएका हुन् । त्यही भएर यहाँ लिच्छविकालमा चलेको संवत् शकसंवत् भन्ने र शकसंवत् होइन लिच्छविसंवत् भनेर ठम्याउनेको बीचमा अर्को बिकल्प थप्न खोजेको हुनु नै वर्तमान शक , प्रवर्तमान शक नामको अद्भूत परिकल्पना गरेको हुनाले यही विषय माथि ध्यानाकृष्ट भई यो लेख तयार गरिएको हो ।
वि.सं २०६१ सालमा प्रकाशित ३२ पृष्ठकीय पातलो पुस्तिकालाई “नेपालका इतिहास—संशोधकहरुको उत्थान र पतन ”नाम दिइएको छ । यस पुस्तिकाको बारेमा सम्बन्धित क्षेत्रका पाठकहरु अपरिचित छैनन् । यस पुस्तिकामा लेखकले दर्शाउन खोजेको मुख्य कुरा यसप्रकार छन् ।
१. २०४६ फाल्गुणमा गोकर्ण बालुवा गाउँमा प्राप्त अंशुवर्माको संवत् ५३६ द्वितीयपौषशुक्ल ५ को अभिलेख पछि प्राचीन नेपालमा दुई थरी संवत् प्रचलित थिए भन्ने सिद्धान्त धराशायी भएको छ ।(पृष्ठ १)
२. संवत् १०७ देखि शुरु भएर संवत् ५३६ सम्म शतस्थानि अंक सहित एक थरी अभिलेखहरु छन् भने सतस्थानि अंकरहित २९ देखि शुरु भइ ३०१ सम्म अर्का थरी अभिलेखहरु छन् । अंशुवर्माको वर्तमान संवत् ३१ को एउटा बाहेक अरु अभिलेखमा प्रयोग भएको संवत् “गत” हुन् वा वर्तमान हुन् स्पष्ट छैन । वर्तमान संवत्को गणना १ देखि हुन्छ भने “गत” को ० देखि हुन्छ ।पृष्ठ ६)
३. नेपालसंवत्बाट शकसंवत् लैजाने सूत्र दिंदा पनि चैत्रादि गत शक ८०१ वर्ष ७ महिना पछि नेपालसंवत् शुरुभएकोलाई स्थूल संख्या ८०२ दिएको छ ।(पृष्ठ १०)
४…….नेपालमा प्रचलित शकसंवत् गत होइन । यसको गणना सन् ७८ मार्च३ बाट हुँदैन । यो वर्तमान वा प्रवर्तमान शकहो । यसको गणना सन् ७६ अक्टुवर २० बृहस्पतिबारबाट हुन्छ किनकि यो कार्तिकादि हो । त्यसैले कार्तिकादि प्रवर्तमान शक र चैत्रादि गत शक संवत् बीच एकवर्ष ५ महिनाको अन्तर हुन्छ । (पृष्ठ २६)
५. भारतीय शकसंवत् भन्दा यो संवत् १वर्ष ५ महिना पहिलेबाट गणना गर्नुपर्दछ ।(पृष्ठ २७)
१. वास्तवमा दुई थरी संवत् प्रचलित थिए भन्ने सिद्धान्त मात्र धराशायी भएको होइन शकसंवत् र मानदेवसंवत् दुबै होइनन् भन्ने पनि हो । उनी इतिहास क्षेत्रको विज्ञ होइनन् त्यही भएर यस भित्र कसरी प्रवेश गर्ने भन्ने ज्ञान उनमा छैन भन्ने कुरा प्रष्ट हुन्छ । किनभने प्राचीन नेपालमा दुई थरी संवत् प्रचलित थिए भन्ने सिद्धान्त धराशायी भएको छ पनि भन्ने फेरि त्यसलाई वर्तमान र प्रवर्तमान संवत् पनि भन्दै गर्दा दुई थरी संवत् प्रचलन भएकै कुरालाई अप्रत्यक्ष पृष्ठपोषण हुन गएको भने उनले चालै पाउन सकेनन् । यो कुरा उदेक लाग्दो छ ।
२. संवत् १०७ देखि संवत् ५३६ सम्मको एक समूह र अर्को २९ देखि ३०१ सम्मको अर्को समूह भन्नु पनि एकप्रकारले दुई थरी संवत् भन्नु भन्दा केही फरक होइन । संवत् ३१ को एउटा वर्तमान हुन् अरु वर्तमान हो वा होइन स्पष्ट छैन । यसो भन्दै गर्दा उनको भनाइमा तौल नभएको हावा जत्तिकै हलुको हुन पुगेको छ । किनभने संवत् ३१ बाहेक अरु पृथक हुन् भनेको भयो । संवत् भनेको उनले सोचे जस्तो नौरंगी हुने होइन । अर्को कुरा भनेको कुनै पनि संवत् ० बाट शुरु हुने पनि होइन । चाहे गत नाम देउन चाहे वर्तमान भनुन् वा प्रवर्तमान भनुन् । संवत् भनेको बिजुली मिटरमा ९ पछि १० भएपछि पछाडिको ० छोडेर १ युनिट गरे झैं संवत् पनि ० बाट शुरु भएर १२ महिना पुगेपछि १ हुन्छ भन्ने सोच उनले राखियो यो कुरा गलत हो । संवत् ३१ एउटा एक थरी अरु सबै अर्कै थरी भन्दा दुनियाँ हास्न बेर छैन । यहीं बाट बुझिन्छ कि इतिहाससंग असम्बन्धित व्यक्तिको उद्गारको केही अर्थ हुँदैन ।संवत् ३१ को अभिलेखमा बार नक्षत्र उल्लेख भएको मिति छ त्यही वर्षमा अधिमास उल्लेख भएको अभिलेख पनि पाइएको छ । तद्नुसार वर्तमान शकभए के हुने र प्रवर्तमान भए के हुने ? त्यसको विश्लेषण उनीबाट संभव भइरहेको छैन । स्वयं लेखकले संवत् ३१ माघशुक्ल १३ आदित्यवार पुष्य नक्षत्र भनेको जुलियन पात्रो अनुसार इस्वी ६०८ फेव्रुअरी ४ पर्दछ भनेको छ । यो पनि वर्तमान शक संवत् मानेकोमा यो यदि प्रवर्तमान शक मानेमा यो हुन्छ भनिएको छैन । यसरी ६०८ फेव्रुअरी ४ आएको देखाउन गणनाको चरण नदेखाइ गरेकोलाई कसैले अर्थपूर्ण रुपले लिईंदैन र लिइएको पनि छैन । यसरी इतिहास नजानेको असम्बन्धित व्यक्तिले नाना भाँति बोलेको कुरा इतिहास सम्बन्धित व्यक्तिले स्थान दिन खोज्नु कुनै हालतमा मनासिब भन्न मिल्दैन । उनको मान्यता अनुसार ६०८—३१= ५७७ देखिन आउँछ । यो कुरा कुनसिद्धान्त आकर्षित भएर यो देखा परेको हो त्यो स्पष्ट देखाउनु अत्यावश्यक हुन आउँछ । त्यसमा उनी स्वयं असमर्थ छ ।
३. इतिहास मर्मज्ञहरुका अनुसार नेपालसंवत् १ को वर्ष वि.सं ९३६ को कार्तिकदेखि वि.सं ९३७ को आश्विनसम्म रहन्छ भने इस्वी सन ८७९ अक्टोवर २० देखि ८८० अक्टोवर १९ सम्म रहन्छ । इतिहासको मर्म नजानेकाहरुले त्यसको प्रतिकूल के के भन्छ वा भने त्यता तिर लागेर साध्य हुनेपनि होइन । यी दुवैको आधारमा शकसंवत् ८०१ को कार्तिकदेखि शक ८०२ को आश्विनसम्म रहने देखिएको पनि प्रत्यक्ष छ । नेपालसंवत कार्तिकादि र शकसंवत् चैत्रादि भएकोले यी दुई बीचको अन्तर कार्तिकदेखि फागुनसम्म ८०० र चैत्रदेखि आश्विनसम्म ८०१ देखिने निश्चित छ ।
मध्यकालका अभिलेखतिर नियाल्यौं भने बोडे महालक्ष्मीको मन्दिरको ताम्रपत्र अभिलेखमा
संवत् ८८९ माग्र्गशिल शुदि ४ ।। श्रीशाके १६९१ विक्रमाव्द १८२६ कलि ४८७० ।। दिइएको छ ।
त्यस्तै भक्तपुर मूलचोक सुवर्णढोकाको सुवर्णपत्र अभिलेखमा
कलिगताव्द ४८०७ विक्रमाव्द १७६३ शाकाव्द १६२८ नेपालसम्वत् ८२६ ज्येष्ठमासे कृष्णपक्ष चतुर्थी पर पंचमी तिथि शतभिषनक्षत्र आयुष्मानयोग बुधवार दिइएको छ ।
यहाँ मंसिर महिनाको अभिलेखमा पनि शाके र नेपालसंवत् बीच ८०२ वर्ष कै अन्तर छ भने ज्येष्ठ महिनाको अभिलेखमा पनि ८०२ वर्ष कै अन्तर छ । यसको मतलव लेखकले भने जस्तो ८०१ वर्ष र ७ महिना भएपछि स्थूलसंख्या ८०२ देखिएको होइन । यतातिर उनको ध्यानै गएको छैन त्यसैले उनको भनाईको कुनै औचित्य छैन ।
४. उनको त्यो कथनले शकसंवत् दुई थरीका छन् एउटा गत शक अर्को प्रवर्तमान शक भन्ने भयो । उनले संवत् ३१ को तिथिमिति भएको मितिको AD 608 February 4 हो र अर्को संवत् ३०१ को तिथिमिति सहितको मितिको AD 878 April 13 हो पनि भनेको छ । त्यसमा उनको सिद्धान्त कहाँ निर उजागर भइरहेको छ त्यो उनले सिद्ध गर्नु पर्ने कुरा हो । त्यति मात्र होइन सन् ७८ मार्च ३ लाई आधार बनाएको हो वा सन् ७६ अक्टुवर २० लाई आधार बनाएको हो त्यो सम्म पनि खुलाइएको छैन । त्यसकारण यस्तो मनगढन्त मान्यता अघिसार्ने व्यक्ति भन्दा पनि त्यसलाई प्रश्रय दिन खोज्नेहरु नालायक हुनु हो ।
५. भारतीय शकसंवत् भन्दा यो संवत् १वर्ष ५ महिना पहिलेबाट गणना गर्नुपर्दछ ।(पृष्ठ २७)
उन लेखकले भारतको शकसंवत् र नेपालको अभिलेखमा देखापर्ने शक शाके नाम दिइएका संवत् बीच १ वर्ष ५ महिना फरक छ भन्नेसम्म बुझेको रहेछ भन्ने कुरा माथिको उद्धरणबाट नै देखियो । तर उनलाई नेपालसंवत्को शुरुको वर्ष ० बाट शुरु भई १२ महिना भुक्त भएपछि १ भएको होकि शुरु मै १ भएको थियो त्यसमा उनी स्पष्ट हुन सकेको छैन । अर्को कुरा शक ८०१ को कार्तिकदेखि शक ८०२ को आश्विनसम्म रहने शकसंवत् वर्तमान भन्ने कि प्रवर्तमान भन्ने उनी द्विवधामा छ । नेपालसंवत् कार्तिकादि हो शकसंवत् चैत्रादि हो भन्ने बुझेपछि अभिलेखमा मंसिरको मितिमा पनि ८०२ वर्ष अन्तर र जेष्ठको मितिमा पनि ८०२ वर्ष नै अन्तर भइरहेको दृष्टान्त कुरा उनको दिमागले ठम्याउन सकेको छैन । यसता दृष्टान्त हुने अभिलेख एक दुइवटा होइन असंख्य छन् । यसको मुख्य कारण भनेको उनी इतिहास विज्ञ होइनन् ।
वास्तवमा वर्तमान प्रवर्तमान यो लेखकको मनगढन्त परिकल्पना मात्र हो । यसले एकदुई जनाको मति भ्रम पार्न सकेको मात्र हो इतिहास आकर्षित भएको चाहिं होइन । इतिहासले त स्पष्ट बताइरहेकै छ कि नेपालसंवत्मा ८०२ जोडिएको संवत् लिच्छविकालदेखि प्रचलित भइआएको संवत् हो भने नेपालसंवत्मा कार्तिकदखि फागुनसम्म ८०० जोडिने र चैत्रदेखि आश्विनसम्म ८०१ जोडिने संवत् वास्तविक शकसंवत् हुने स्पष्ट छ । लिच्छविकालदेखि चल्दै आएको संवत्लाई पनि भ्रमवश शक वा शाके भनिएको मात्र हो वास्तविक शकसंवत् होइन । त्यसकारण हिसाव गरेरै हेरियो भने ८०२ वर्ष र ८००।८०१ वर्ष बीचको अन्तर भनेको १वर्ष ५ महिना हो । भक्तपुर मूलचोक सुवर्णढोकाको सुवर्णपत्र अभिलेखमा नेपालसंवत्लाई नेपालसंवत् अरु कलिगताव्द, विक्रमाव्द र शाकाव्द भनिएको मतलव गत वर्ष भनेर “अव्द” भनिएको पनि होइन । कतिपय अरु अभिलेखहरुमा नेपालसंवतलाई पनि नेपालाव्द भनिएको उदाहरणहरु पनि धेरै छन् । जे भएपनि शव्दको उद्गार भन्दापनि अंकगणितीय आधार ऐना भइभइकन कुवा खोज्न भौंतारिनु पर्ने कुरा यहाँ छैन ।
निष्कर्ष
सम्बन्धित क्षेत्रमा सम्बन्धित विज्ञको भनाइ मात्र आकर्षित हुन्छ असम्बन्धित व्यक्तिको भनाइ आकर्षित हुनसक्दैन । यदि आकर्षित गराइयो भने हाँसको बथानमा कागले बोले जस्तै हुनजान्छ । त्यस्तै स्रोत प्रमाण भन्ने कुरा पनि सम्बन्धित विषय र सम्बन्धित समय तिरको नै हुनुजरुरी छ । त्यसको लिहाज नेपालमा भइरहेको देखिंदैन यही नै यहाँको बिडम्वना र दूर्भाग्य भइरहेको छ ।
माथि उल्लेखित “नेपालका इतिहास—संशोधकहरुको उत्थान र पतन” भन्ने ३२ पृष्ठको रातो पुस्तिकाका लेखक नेपालको प्राचीन इतिहासका ज्ञाता पनि होइन विज्ञ पनि होइन । किनभने नजाने गाउँको बाटो नै सोध्नु जरुरी छैन भनेझैं ० बाट शुरु भएको संवत् यस दुनियाँ मै छैन भने वर्तमान भनेको ० बाट शुरु हुने प्रवर्तमान भनेको १ बाट शुरु हुने जस्ता निरर्थक कुरा ल्याइयो यसमा बहस गर्न थाल्यौं भने व्यर्थमा समय मात्र बरबाद हुनजाने छ ।
यसरी समय बरबाद भइरहेकै सन्दर्भमा कुरा गर्ने हो भने गत ३८।३९ वर्ष देखि समय बरवाद सिवाय अरु भइ रहेको छैन । किनभने लिच्छविकालमा प्रचलन भएको संवत्को बारेमा निर्णय गर्दा वि.सं १२३९—१३०८ को भोटको स सक्य पान चेनको वाक्यलाई आधार मानेर कालगणना गरेको भनीरहेका छन् । त्यस्तै वि.सं १७१२ मा लेखिएको हरिवंश पुराणको पुष्पिका वाक्यलाई आधार मानेर गणना ट्वाक्क मिल्यो भन्दै आइरहेका छन् । भनाइको मतलव ती स्रोत सम्वन्धित समय कालको होइन । त्यतिमात्र होइन वि.सं १४३१ मा सारिएको सुमतितन्त्र नामक पुस्तकको आधारमा कालगणना गर्दा सबै ट्वाक्क२ मिल्न आयो र यो ग्रन्थ नभेटिएको भए निर्णय गर्नै पाउने थिएन भन्ने जस्ता नाजायज कुरा अघि सारेर उपलव्धिहीन कुराले व्यर्थको समय खाइरहेको छ ।
कतिपय इतिहासकार कहलिएका जमात मै पनि सम्बन्धित स्रोत के हो ? छुट्याउन सकिरहेका छैनन् भने कतिपयले असम्बन्धित स्रोत के हो ? त्यही भेद छुट्याउन नसकेर समयकोे बरबाद मात्रै भइ रहेको छ । समय व्यर्थमा खेर फाल्ने क्रममा इतिहासकार त हो तर आधुनिक इतिहासका ज्ञातालाई प्राचीन इतिहासको मर्म बारे ज्ञान नभएर पनि समय खेर गइरहेको भनेको प्राचीन नेपालमा दुई थरी संवत् प्रचलित थिए भन्ने सिद्धान्त धराशायी भएको छ भन्ने त बुझे घुमीफिरी फेरी दुइथरी संवत् प्रचलित रहेकै कुरालाई समर्थन गर्ने गर्दै आए । अर्को भारतीय शकसंवत् भन्दा लिच्छविकालमा चलेको संवत् १वर्ष ५ महिना अघिको भनेर त बुझे जस्तो गरे तर त्यसरी डेढ वर्षको अवधि एउटा चैत्रादि कार्तिकादिले ५ महिना हिसाव फरफारक भए भने अर्को ० बाट उठ्ने र १ बाट उठ्ने संवत्बाट हिसाव फरफारक भए भन्ने जस्ता कुतर्क गरेर समय बरबाद गर्दै आए । यसरी अरुलाई हुर्मत लिने ध्याउनामा आप्mनै इज्जत गइरहेको चाल नपाएको अवस्था त्यसमा देखिन्छ । त्यसकारण जसलाई समयको महत्व थाहा छ उ यी कुराबाट सचेत भइसकेका छन् भने जसलाई समयको महत्व थाहा छैन उनीहरु असम्बन्धित तर्क वितर्क मै रुमली रहेका छन् वास्तवमा यथार्थ पनि यही हो ।