
काठमाडौँ। अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा लक्षित गरी अर्को चरणको भीषण हवाई आक्रमण गरेको छ ।
अमेरिकी कारबाहीमा इरानका हवाई रक्षा प्रणाली, राडार संयन्त्र, समुद्री पूर्वाधार, माइन बिछ्याउने क्षमता र सञ्चार केन्द्रहरूलाई निसाना बनाइएको छ ।
अर्कोतर्फ अमेरिकी आक्रमणको प्रतिवाद गर्दै इरानले बहराइनस्थित शेख इसा एयर बेस र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । जोर्डनको सेनाले आफ्नो क्षेत्रतर्फ आएका १३ वटा इरानी ब्यालिस्टिक मिसाइलमध्ये १० वटालाई हावामै नष्ट गरिदिएको जनाएको छ ।
यस्तै, कुवेत र बहराइनमा पनि इरानी ड्रोन हमलालाई असफल पार्न हवाई रक्षा प्रणाली सक्रिय पारिएको बताइएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौताको आवश्यकता नरहेको दाबी गरेका छन् । ट्रम्पका अनुसार, सामरिक महत्त्वको ‘होर्मुज जलमार्ग’ माथि अमेरिकाको लगभग पूर्ण नियन्त्रण कायम भइसकेको र इरानको अर्थतन्त्र निरन्तर धराशायी भइरहेको छ ।

