
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका मुख्य नदीहरूमा पानीको बहाव सामान्य रहे तापनि कोशी र नारायणी जलाधारका केही सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिएको छ ।
महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायत कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ । यद्यपि, आगामी तीन दिनको पूर्वानुमान अनुसार तामाकोशी, सुनकोशी, नारायणी, त्रिशुली, बुढीगण्डकी र मर्स्याङ्दी जस्ता नदीहरूमा जलसतह तीव्र गतिमा बढ्न सक्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले ध्यानाकर्षण गराएको छ ।
विशेष गरी पहाडी तथा भित्री मधेसका साना नदीहरूमा आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको छ । आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, बाँके, बर्दिया र कैलाली आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव ह्वात्तै बढ्न सक्ने सम्भावना छ ।
त्यसैगरी, भोलि र पर्सी गण्डकी तथा लुम्बिनी प्रदेश भई बहने केही साना नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा बाढी प्रभावित सम्भावित स्थानका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरिएको छ ।


