
काठमाडौँ । लघुकथा समाज,नेपालले १९ औं लघुकथा दिवसको अवसर पारेर लघुकथा गोष्ठी सम्पन्न गरेको छ ।
बिहिबार ठमेलमा आयोजित गोष्ठीमा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथा लेखनीको संख्यामा बढोत्तरी हुँदैजाँदा पनि लघुकथाको सर्वमान्य सिद्धान्त बन्न नसक्नु दुःखको कुरा भएको बताए । आफुहरुले १९ बर्ष अघि सुरु गरेको लघुकथा दिवसलाई सबैतिर स्विकारिनु सुखद कुरा रहेको उनको भनाई थियो । उनले नेपाली साहित्यमा लघुकथाको संस्थागत विकास,सम्बद्र्धन र प्रवद्र्धनमा लघुकथा समाजले स्थापना कालदेखि नै भूमिका खेलेको बताए ।
उनले वर्तमान समयमा प्राज्ञिक क्षेत्रमा देखिएका,सुनिएका विकृति र विसंगतितर्फ संकेत गर्दै भने, ‘प्राज्ञिक रुपमा भएका वेथितिहरुले साहित्यलाई कमजोर बनाएको छ । हिजो सबैभन्दा बढी माला लाउनेहरु,सम्मान थाप्नेहरु अहिले हराएका छन् । गुमनाम भएर बाँचेका छन् । यो राम्रो भएन् । आफ्नो मन्तव्यको क्रममा उनले लघुकथा भाँडिएको छ । जेलाई पनि लघुकथा भनि छापिने गरेको छ ।’ लघुकथाका नाममा थुप्रै संस्थाहरु स्थापित भएका छन्,ती सबैलाई एउटै छातामुनि ल्याउन सके लघुकथा दिवस मनाउनुको सार्थकता हुनेमा उनको जोड थियो ।
डा.हरिप्रसाद भण्डारीले गोष्ठीमा बाचित लघुकथाहरुमाथि संक्षेपमा टिप्पणी गर्दै भने, ‘अधिकाँस वाचित लघुकथाहरु वर्तमान समयका विकृति र विसंगतितिर व्यङ्ग्य गर्ने गरी आएका छन् ।’ उनले लघुकथाबारे चर्चा गर्दै बताए ‘धेरै लघुकथाहरु पढियो,लेखियो तर लघुकथा बुझ्न जटिल हुन थालेको छ ।’ उनले लामो समयसम्म कालजयी हुने हिसावले सम्झिईरहन सक्ने लघुकथा उत्कृष्ट हुन्छ भन्नेतर्फ लघुकथाकार चनाखो हुनुपर्नेमा जोड दिए ।
लघुकथा केन्द्रका संस्थापक अध्यक्ष लता केसीले पनि लघुकथाको बारेमा बोलिन ।

समाजका अध्यक्ष कोइरालाले १९ औँ लघुकथा दिवसका अवसरमा विगतमा झैं त्रिद्धिवसीय रुपमा गोष्ठी,नाटक मञ्चन, पुरस्कार समर्पण लगायतका कार्यगरी मनाउने जानकारी दिए ।
गोष्ठीमा लघुकथाकार दीपक लोहनीले ‘आगो र पानी’,शोभा अधिकारीले ‘शंका’,सत्या अधिकारीले ‘अस्त्र’ र मन्दिरा मधुश्रीले ‘आदेश’ शिर्षकको लघुकथा पाचन गरे ।
यसैगरी,धुव्रराज थापा ‘पुरुष’ले ‘गाइजात्रे ‘लघुकथा,राधादेवी राजवंशीले ‘चाहाना’, शुषमा चित्रकारले ‘शब्दको खेती ‘वाचन गरेका थिए ।
यस्तै,प्रदीप सापकोटाले ‘पर्दा पछाडिको सत्य’,तारा केसीले ‘पच्चीस वर्षपछि’,सुमन सौरभले ‘बहाना’ वाचन गरे ।
कार्यक्रममा अतिथि लघुकथाकारहरु लता केसी,डा. हरिप्रसाद भण्डारीले पनि आआफ्नो लघुकथा वाचन गरेका थिए ।
समाजका अध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीको सञ्चालन तारा केसी र स्वागत मन्तव्य श्रीबाबु कार्कीले राखे ।

