
चर्चामा पुस्तक
मानस
कथाकार सञ्जु अधिकारीको कथासङ्ग्रह मानसभित्र विषयगत विविधाका २१ थान कथाहरु समावेश गरिएका छन्। कथाकारले समाजका अनेक पात्रहरुका कथाहरु विषयवस्तु बनाएर पेश गरेकी छिन् ।
सँघर्ष गर्दापनि पराजित मान्छेका विवशता यहाँ आएका छन् । लैगिक विभेद पनि छताछुल्ल हाम्रै आँखा अगाडि आएको छ ।
कथाहरु सुन्दर छन् । सरल छन् । जीवनका अनेक आयामहरु पोखिएका छन् । अनुभूतिमात्र नभई भोगाइमा आएका जस्ता लाग्छन् । हाम्रा आफ्नै घरभित्रका कहानी कथा बनेका छन् । नारीको संवेदना पोखिएका छन् कथामा । विदेशिनुपर्ने नेपालीका नियति दुखेका छन् । समाजका अनेक विभेदहरु पनि कथामा चित्रण गरिएका छन् । सामाजिक मनोविज्ञानमा आधारित कथाहरु पनि छन् ।
यथार्थजनित भावमा कथाहरु आएका छन् । आयामका दृष्टिले कथाहरु केही लामा लाग्छन् । तर भाषा क्लिष्टताबाट टाढा छ । सरल छ ,सुबोध्य छ ।
मानस कथासङ्ग्रहलाई बिएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.५५५। रहेको छ ।
अनुभूति
हिन्दी र नेपाली भाषामा लेखिएका कविताहरूको एउटा बृहत्त् सँगालो हो, ‘अनुभूति’ — हिन्दी नेपाली काव्यपुञ्ज’ । यो कविताकृतिभित्र नेपाली कविका नेपालीसँगै त्यसको हिन्दी अनुवाद र हिन्दी भाषी कविका हिन्दी कवितासँगै त्यसको नेपालीमा अनुवाद समावेश छ । नेपाल र भारतका कूल ६२ जना कविहरुका दुई /दुई कविताहरु कृतिमा समावेश गरिएको छ ।
कवि राजेन्द्र शलभको परिकल्पनामा यो अनुवाद कृतिको समन्वय सुधाकर पाठक, डा.धनेश द्विवेदी र विश्वविमोहन श्रेष्ठले गरेका हुन् । यसमा हिन्दी र नेपाली दुवै कविताहरूको अनुवाद रश्मि शर्माले गरेकी छन् । कृतिको सम्पादन रश्मि शर्मा,मोहन प्रसाद दाहाल,विनोद पाराशर र राजकुमार श्रेष्ठले गरेका हुन् ।
अनुभूतिलाई एपेक नेपाल र हिन्दुस्तानी भाषा अकादमीले प्रकाशनमा ल्याएका हुन् । यसकृतिको मूल्य रु.५००। रहेको छ ।
यात्राको भँगालो
माधव प्याकुरेलको यात्रा संस्मरण हो यो । पेशाले कानून व्यवसायी प्याकुरेलले यस कृतिमा आफ्ना विभिन्न देशहरुको भ्रमण गरेका स्थानहरुका बारेमा २४ वटा यात्रा संस्मरणहरु समावेश गरेका छन् ।
युरोप,उत्तर अमेरिका,एशिया लगायतका विभिन्न देश,त्यहाँका विभिन्न ऐतिहासिक महत्वका स्थानहरुको रोचक र जानकारीमूलक ढँगले संस्मरणहरु पेश गरेका छन् ।
उनले नेपाली जीवनलाई तुलनात्मक रुपमा पनि राखेका छन् । सरल भाषाशैलीमा पाठकलाई उनले संस्मरणसँगै यात्रा गराउँछन् ।
यात्राको भँगालोलाई ओरियन्टल पब्लिकेशनले प्रकाशनमा ल्याएको छ । यसको मूल्य रु.४५०। रहेको छ ।

