
नियात्रा
परदेश–अलास्का, अमेरिका
सिवार्डमा ह्वेलसँग जम्काभेट
विष्णुप्रसाद शर्मा पराजुली
सिवार्ड अलास्का समुद्री तटमा पहाड, नदी, हिमनदी, हिमपर्वतले घेरिएको सानो पर्यटकीय सहर हो । यो अलास्का समुद्रको रिसरेक्सन खाडीको उपल्लो भागमा पर्छ । खाडीसँगै जोडिएको जमिनलाई समुद्री छालले कोतर्दै समुद्रको पानी भित्री भागसम्म छिरेको छ । समुद्रसँगै जोडिएको जमिन अनौठो गरी अग्लिँदै गएर एक हजार मिटरभन्दा अग्ला म्याराथन पर्वतजस्तै अन्य पहाड सिवार्डवरपर उभिएर समुद्रलाई लोभ्याएका छन् । झट्ट हेर्दा ती सराङ्कोट, कास्कीकोट, रामारोशन, बडिमालिका, चरीकोट, पाथीभराबाट हेर्दा देखिने नेपालका मध्य पहाडका पर्वत जस्ता मनोहर देखिन्छन् । समुद्रसँग जोडिएको पहाडको काखमा समथर ठाउँमा थपक्क बसेको हुनाले सिवार्डले आफुलाई अलास्काको महत्वपूर्ण सहरमा नाम राख्न सफल भएको छ ।
यो अलास्का पुग्दाको सन्दर्भ हो सन् २०२५ अगस्त महिनाको । अलास्का पुग्नासाथ सिवार्डतिर मोडिएका थियौँ । यस यात्रामा म अलि बढि हौसिएको थिएँ । मलाई यस्तो लागि रहेको थियो कि अनुहारमा गम्भिरता, निधारमा खेतका गरा, गालामा सुकेको फूलको चाउरीपन र केश सिमलको भुवा भए तापनि अलास्कामा पाईला परेपछि म तीन–चार वर्षे चञ्चले बालकमा रुपान्तरण भएको थिएँ । जे देखे पनि छुने, हेर्ने, उफ्रने, दुःख दिने जस्तो भएको थिएँ मनैमनमा ।
सिवार्डले समुद्र, उपत्यका, पहाड, बरफका पर्वत र विशाल हिमनदीलाई आफन्त बनाएर प्रकृतिका विविध रूपमा सजिएर हिउँद, वसन्त, ग्रीष्म र शरद सबै ऋतुमा पर्यटकलाई कायाकिङ गर्न, माछा मार्न, पदयात्रा गर्न, ह्वेल हेर्न, क्रुज यात्रा गर्न, हिमनदी दृश्यावलोकनलगायत प्रकृतिसँग लहसिने विभिन्न स्तर र प्रकारका क्रियाकलाप गर्न विश्वभरका साहसिक पर्यटकलाई लोभ्याउन सफल रहेछ । अनि म बबुरोलाई त्यसले नलोभ्याउने कुरै भएन ।
सुविधा सम्पन्न रुमालजस्तो सहरमा स्थायी रूपमा बसोबास गर्ने प्राचीन जाति भने मात्र २,८०० रहेछन् । ती मध्ये सुगपियाक/अलुतीक (Sugpiac/Alutiiq), केनाइज (Kenaitze),अलुतीक (Alutiiq) र अमेरिकन अलास्कान इण्डियन मुख्य आदिवासी जाति हुन् । हाल सबै मिश्रित जातिको बसोबास छ । त्यत्तिकै सङ्ख्यामा ग्रीष्ममा राष्ट्रिय निकुञ्ज, पर्यटकीय स्थल, होटल, सङ्ग्रहालय आदिमा काम गर्न बाहिरबाट कामदार यहाँ भित्रिन्छन् ।

सहरसँगै रिसरेक्सन खाडी (Resurrection Bay), रिसरेक्सन पर्वत, बेन्सन पर्वत, म्याराथन पर्वत रहेका छन् । जम्माजम्मी ९ सय २१ मिटर उचाइ भएको यहाँको उच्च पर्वतमा सन् १९०९ देखि हरेक वर्ष जुलाई ४ मा म्याराथनको प्रतिस्पर्धा हुने गर्छ । सन् १९०९ मा स्थानीय गस बोरगन (Gus Borgan) ले “एक घण्टामा त्यस पर्वतको चुचुरोमा कोही पुग्न सक्दैन” भनि बाजी थापेका थिए रे । फेँददेखि टुप्पोसम्म ५ किलोमिटर लम्बाइ भएको ठाडो पर्वतमा विश्वभरका धावक प्रतिस्पर्धा गर्छन् आजकल । सन् १९८१ म बिल स्पेन्सरले ४३ मिनेट २३ सेकेण्ड रेकर्ड कायम गरेका छन् । सिवार्ड पोर्टबाट हेर्दा यो पर्वतको माथिल्लो खण्ड वृक्षविहीन, गर्गरे र धारिलो रहेको छ । यहाँ पदयात्रा गर्नेको पनि भिड हुन्छ ।
हामी हार्डिड आइस (हिमनदी)को दृश्यावलोकनमा जाने भएकाले त्यता गएनौँ । म्याराथन पर्वतले सिवार्डको चर्चा विश्वभर पुर्याएको रहेछ । नेपालमा त्यत्तिको सुन्दर, त्यती उचाइका पर्वत त सानो भुखण्डमा नै लाखौँ हुन्छन् । त्यो भन्दाआकर्षक छन् तर विकट छन् ।
सिवार्ड तिर जाँदा त्यसबारे थोरै बोल्नै पर्यो। अलास्का रुसको भएको समयमा सिवार्ड स्थानीय सुगपियाक(Gus Borgan) र केनाइज (Kenaitze) आदिवासी जातिको माछा मार्ने र शिकार गर्ने क्षेत्र थियो । आदिवासी जाति हजारौँ वर्ष पहिलेदेखि यहाँ बसोबास गर्थे । सन् १७९२ मा नै रुसले यहाँ सुरक्षा गढी र जहाज मर्मत गर्ने स्थान बनाएको थियो ।
सन् १८६७ मा अलास्का अमेरिकाले किनेपछि भने जहाजको ओहोरदोहोर बढ्यो । त्यस बेला अब्राहम लिङ्कनका सेक्रेटरी विलियम हेन्री सिवार्डले प्रति एकड भूमि दुई सेन्टमा खरिद गर्दा उनलाई मूर्ख भन्दै उनको खोईरो खनेका रहेछन् अमेरिकीले । वास्तवमा उनको त्यो मूर्खता दूरदृष्टि सोच थियो । अहिले ट्रम्प महोदयको छाती पक्कै पनि गर्वले डेनाली पर्वतजत्तिकै उचालिएको हुनुपर्छ । अनि पुटिन महोदय त्यहाँ पुगेर त्यो वैभव देख्दा अवश्य पनि मरिच चाउरिएझैँ चाउरिए होलान् । हो, तिनै विलियम हेन्री सिवार्डको सम्मानमा यो सहरको नाम सिवार्ड राखिएको रहेछ, जुन अलास्काको मुख्य पर्यटकीय गन्तव्यमा पर्छ । अलास्का बारे पहिलो लेखमा उल्लेख छ ।

हामी गुडरहेका छौँ । छोरा सुमनले मोटर कुदाएका छन् समुद्री तटमा म, मैले माथि भने चुलबुलाईरहेको छु हरेक नया दृश्यमा अनि हर्षले पुलकित भएको छु –अलास्का समुद्रमा हामफाल्ने गरी ।
सन् १९०१ मा सियाटलका व्यापारीले रिसरेक्सन खाडीतर्फ रेलमार्गको विस्तार गरे र सन् १९०३ मा सिवार्डमा सहरको स्थापना गरे । पछि सन् १९१५ मा अलास्का रेलमार्गको रूपमा सरकारले रेलमार्ग बनाउन प्रारम्भ गरी सन् १९२३ मा सम्पन्न गर्यो । यसरी सिवार्ड एङ्कोरेजसँग रेललाइनबाट जोडियो । बरफविहीन बन्दरगाह भएकाले केनाइ पेनिनसुलामा जहाजयात्राको टर्मिनल बन्न पुग्यो । समुद्र, ससाना पहाड, ठुला र लामा हिमनदी, जमिनको भित्री भागसम्म साँघुरो रूपमा समुद्र छिरेर लामो समुद्री तट बनेको क्षेत्र, नेपालको जस्तो गहिरो नदी उपत्यका र प्राकृतिक विविधता भएको, वरपर हिमनदी भएको कारणले सिवार्ड प्रकृतिसँग क्रीडा गर्न रुचाउने यात्रीको रोजाइको गन्तव्य बन्न पुग्यो ।
मन छिटो कुद्छ । अनियन्त्रित हुँदा यसले समुद्रमा डुबाउँन सक्छ । तैपनि मन न हो –अलास्का समुद्र हेर्दै सिवार्ड तिर जाँदा फेरि म नेपाल पुगेँ अनि हिन्दमहासागरमा पुगेँ । त्यसबेला भने सागरलाई तिमी यहाँ अलास्काको समुद्र सिवार्ड र त्यस्तै अन्य ठाउँमा साँघुरिएर छिरे झैँ आजको नेपालको सीमासम्म छिरिदिएको भए के हुन्थ्यो त ? हुन त कुनै बेला हाम्रा पुर्खा दक्षिणपूर्व हुँदै असाम कामख्यासम्म पुगेको हुनाले होला । हिन्दमहासागरसँग झगडिदै थिएँ “बुवा कता हराउँनु भो ?” भन्ने आवाजले झस्केँ । अनि छोरा सुमनले सिवार्ड र समुद्रबारे बारे भनेको विषयतिरै मोडिएँ ।
सिवार्डसँग जोडिएको समुद्रवरपर सालमन, ट्राउटसहित विभिन्न प्रकारका माछा, अन्य समुद्री जीवमा स्टेलर, सी लायन, सी ओटर, हारबर सिल, हम्पब्याक ह्वेल(Steller, sea lion, sea otter, harbor seal, humpback whale) देख्न सकिन्छ । यहाँका पहाड, खोँच, नदी र तालवरपर घना वन छ । जङ्गली जनावरमा यहाँ भालु, मुस (Moose) सहित विभिन्न जनावर, खुइले गिद्ध, हर्न एण्ड टफ्टेड पफिन, किटिवेक्स, मुरेज (Horned and tufted puffins, Kittiwakes, Murres)सहित १९० थरीका समुद्री र जमिनमा हुने चराचुरुङ्गी आदि भएको कारण यो सानो सहर वर्षैभर विभिन्न पर्यटकीय सेवा प्रवाह गर्न व्यस्त रहँदो रहेछ ।
हिउँदका लामा रात, चिसो मौसम, बरफिला पहाड र तट तथा ग्रीष्मका १९ घण्टा लामा दिनमा हेर्ने र अनुभव गर्ने प्रशस्त कार्यक्रम यहाँ रहेछन् । एङकोरेजबाट सिवार्ड समुद्री किनार र पर्वतीय राजमार्ग हुँदै दुई घण्टाको ड्राइभमा सिवार्ड पुगिन्छ । रेल, क्रुज र मोटरबाटोबाट पनि यात्रा गर्न सकिन्छ ।
त्यो दिन न्यूयोर्क-नेवार्कबाट उडेको जहाज एङ्कोरेजमा ओर्लँदा मौसम सफा थियो । कार भाडामा लिएर हामी सरासर अलास्का हाइवे भएर सिवार्डतिर लाग्यौँ । न्युयोर्कभन्दा चार घण्टा समय ढिलो भएकाले हामीलाई फाइदा भयो । बाटोमा समुद्री टापु, समुद्री छाल, मुख्य मार्गका चट्टाने स–साना पहाड, समुद्रमा विश्राम गर्दै गरेको सूर्यास्त हेर्दै चिटिक्क परेर हाम्रो प्रतीक्षामा बसेको सिवार्ड पुगेका थियौँ । सिवार्ड त्यो ठाउँ हो जहाँ जमिन, पर्वत, हिमनदी, हिमताल, नदी, सुन्दर ताल र समुद्रको भेट हुन्छ । सन् २०२५को अगस्त २३ मा होटल सिवार्डमा नै बास बस्यौँ ।
बिहान शान्त रह्यो । सिरसिरे बताससँगै बादल र निलो आकाशको लुकामारी थियो । सानो चिटिक्क परेको सहर नजिकै समुद्र, समथर जमिन अनि त्यही जमिनबाट कालीगण्डकीको किनारबाट बेनी बजारसँगै मल्लाजतिर उठेको पर्वतजस्तै उठेका हरिया पर्वत । पर्वतको तल्लो भागमा कटनउडको वन, माथिल्लो भागमा स्ट्रबेरीसहित अन्य होचो झाडी चम्किलो हरियो देखिन्थे । माथिल्लो भाग भने आठ महिना हिउँले चुसेकाले कालो फुस्रो मोराइनजस्तो थियो । समुद्री किनारमा पदमार्ग, सिपयार्ड, पर्यटन कार्यालय, होटल र रेष्टुराँ रहेका छन् । वरपरका पहाडमा सजिलो, मध्यम र कठिन गरी विभिन्न थरीका व्यवस्थित पदयात्रा मार्ग रहेका छन् । त्यस बिहान सरेक्सन खाडीको पदमार्ग हुँदै हामी सिपयार्डमा पुग्यौँ । सूचना लियौँ । बाँकी रहेको समयमा समुद्री तटवरपर समुद्रको लहर लहराउँदै घुम्यौंँ ।
अचम्म के भने अमेरिकीहरू सुन्दर, नौलो, प्राकृतिक विविधता भएको ठाउँलाई निकुञ्ज–संरक्षण क्षेत्र बनाई हाल्दा रहेछन् । त्यसपछि त्यहाँ बाटो, विजुली, सुरक्षाआदिको व्यवस्था गर्दा रहेछन् । त्यसपछि पर्यटकको ओइरो लाग्दो रहेछ । त्यो विहान हामी पनि समुद्री यात्रा गर्दै थियौँ मुख्य गन्तब्य होलगेट हिमनदी थियो ।
किनाइ फियोर्ड क्रुज (जहाज)को यात्रा ठीक ११ बजे सुरु भयो । दुई तले जहाज भरिभराउ थियो । त्यसमा विभिन्न देशसहित एसियाका यात्रु पनि थिए । नेपाली भने हामी दुई बाबु–छोरामात्र थियौँ । सर्वप्रथम क्याप्टेनले अलास्का रिसरेक्सन बेमा सबै यात्रीलाई स्वागत गर्दै मौसम सफा भएकोमा हर्ष व्यक्त गरे । हामी नेपालीको लागि भने त्यो मौसम सफा होईन । जहाजले आफ्नो गति लियो । डेनमार्क, थाइल्याण्डपछि यो छ घण्टा लामो तेस्रो क्रुजको यात्रा थियो मेरो ।
जहाजको गति अगाडि बढ्यो । कताकति टापु देखिन थाले । क्याप्टेनको भनाइअनुसार त्यो दिनको मौसम, मौसम पुर्वानुमानमा उल्लेख गरिए भन्दा सफा भएको हो रे । उनका अनुसार हाम्रो यात्राको अन्तिम विन्दु किनाई फियोर्ड राष्ट्रिय निकुञ्जको होलगेट हिमनदीसम्म पुग्ने छ । त्यसबिचमा विभिन्न टापु, समुद्री किनार (coastline) पार हुन्थे । सबै यात्रीका आँखा समुद्र, समुद्री जीव र वरपरका टापुतिर नै केन्द्रित थिए ।

पाहुनालाई सन्तुष्ट पार्न यहाँका पर्यटन व्यवसायी पर्वतारोहणमा शेर्पा पर्वतारोही जस्तै अनुभवी हुन्छन् । क्याप्टेनले पुफिन, ओटर, सी लायन, ह्वेल देख्दा, देखिने सम्भावना हुँदा जहाज रोकेर यात्रुलाई देखाउन भरमग्दुर प्रयास गरे । यहाँ देखिने हम्पब्याक (Humpback) र ओरकास (Orcas) ह्वेलको सन्दर्भमा कुन दिशामा देखियो, कति मिनेटमा जहाजको कुन भागमा देखिन सक्छ भन्ने अनुमान चालकले गर्दा रहेछन् । जहाजलाई अगाडि लैजाँदाको अवस्थामा घडीको सुईको आधारमा यात्रीलाई त्यसतर्फ हेर्न भनिँदो रहेछ । जसअनुसार क्याप्टेनले १२ बजे हेर्नुहोस् भन्दा ह्वेल जहाजको ठिक अगाडि हेर्नु पर्ने रहेछ । त्यसैगरी जहाजको दाहिने बिचमा भएमा ३ बजे, देब्रे बिचमा भएमा ९ बजेतिर देखिएको छ भनेर यात्रुलाई जानकारी दिँदा रहेछन् । उनले भनेको नबुझेर म त केरा हेरे झैँ भएँ केही बेर । पछि सुमनले घडीको सुईको आधारमा हेर्नु भने पछि बल्ल अरू यात्रीले झैँ हेर्न थालेँ ह्वेललाई ।
एकतर्फी करिब तीन घण्टाको यात्रामा विभिन्न टापु त्यसमा भएको हरियाली हेर्दै हामी होलगेट हिमनदीको मुखैमा पुग्यौँ । यो टाईडवाटर ग्लेसिर हिमचट्टान फुटेर, हिमचट्टानका साना–ठुला ढिस्का गर्लम्म समुद्रमा विलीन हुने अवस्थाको हिमनदी हो । त्यहाँ नजिकको पानी नीलो र हरियो मिश्रीत रङमा चौपट्टै सफा थियो । ससाना छालको लहर अनन्तसम्म लहराएको दृश्यले सबैलाई मोहित पारेको थियो । नर्थवेष्टर्न विश्वविद्यालयका डिन थोमस एफ होलगेटले हिमनदीको अध्ययन गरेकाले उनको नाममा यो हिमनदीको नाम राखिएको रहेछ ।
जहाजमा तैरिएर दृश्यावलोकन गर्दै गरेको हिमनदी, अलास्का रिसरेक्सन खाडीको इयालिक (Aialik Bay) खाडी रहेछ । यो ठाउँको विशेषता भनेको हिमनदीका ठुला, पुराना, निला हिमचट्टान चर्को आवाजका साथ फुटेर निलै हिम चट्टानका पहाड जत्रै ढिका समुद्रमा छम्लङ्ग खस्नु, जहाज जस्तै सेता ढिका तैरिनु र समुद्रमा विलीन हुनु हो ।
हिमालय पर्वतका विभिन्न शृङ्खलावरपर यात्रा गर्दा भिराला खोँच, ढल्के परेको पहरामा रहेको बरफको ढिका, हिमनदी फुटेर पहिरो जाँदा वा हिमपहिरो जाँदा चर्को आवाजका साथ बादल उडेझैँ उपत्यका ढाक्ने गरी उडेको दृश्य मैले अन्नपूर्ण, मकालु, धवलागिरि यात्रामा देखेको छु । हालै काराकोरम पर्वतको ब्रोड पिकमा त्यस्तै हिम पहिरो गयो । त्यसमा विश्व विख्यात पर्वतारोही निर्मल पुर्जासहित छ नेपाली र अन्य चार विदेशीको त्यसै पहिरोमा परि मृत्यु भयो । हाम्रोमा हरेक वर्ष हिमपहिरो जाने, हिमनदी फुट्ने र त्यसको परिणामस्वरूप बाढी, पहिरो र बस्ती बगाउनेसम्मका दुर्घटना हुने गर्छन् । अलास्का पर्वतका हिमनदी हिमालय, काराकोरम पर्वतभन्दा धेरै गुणा होचो हुन्छन् ।
हामी यात्रारत समुद्री खाडीमा दुई पहाडको बिचमा यो होलगेट हिमनदी रहेको छ । हिमनदीका हिमचट्टानका पत्र फुटेर समुद्रमा तैरिँदै बिलाउँदै जानु, ढुङ्गा जस्तै समुद्री लहरको गतिसँगै हिम शीला बग्नु, त्यससँगै ह्वेल उफ्रनु जस्ता दृश्यले साच्चिकै रोमाञ्चित पार्दो रहेछ ।
वरपरका पहाडबाट त्यसको माथिल्लो खण्डमा रहेको हिमनदीको बरफ पग्लेर झरेका झरनाले नेपालको तमोर, भोटेकोसी, तामाकोसी, मस्र्याङ्दी वरपरका पहाडबाट झरेका झरनाको झल्को दिन्थे । समुद्री खाडी, हिमनदी पग्लेर मिसिएको सफा कञ्चन निलो पानी, निलो आकाश, सेतो बादल, कञ्चन सेतो बरफ नदी(Glaciar0) , हरिया पहाड र ती पहाडलाई सिँगार्दै झरेका सेता झरनाको दृश्य एकै ठाउँमा तैरिरहेको जहाजबाट देख्दा यात्रीहरू हर्षको उन्मादको नशामा झुम्मिएर जहाजमा समुद्रीछालसँगै लहराएका थिए ।
सुरुमा होलगेट हिमनदीको तस्बिर लिन पर्यटकको तछाडमछाड नै भयो । त्यो मुख्य र आकर्षक खण्ड भएकाले जहाज त्यहाँ झण्डै बिस मिनेटसम्म रोकिएको थियो । त्यसैले हामीले समय लिएर दृश्यावलोकन र तस्बिर लिने अवसर पायौँ ।
फर्कँदै गर्दा हामीले विभिन्न आकार, उचाइ, कुनैमा हरियाली भएको, कुनैमा हिउँ र कतै हिउँले खाएर कालो भई सुख्खा भएका समुद्री द्वीप देख्यौँ । पहाड देख्दा ठ्याक्कै घरको झल्को लाग्यो । मात्र के भने हाम्रोमा क्रुज चल्ने समुद्र छैनन् । मैले हिन्दमहासागरसँग दुखेको पोखिसकेको छु । जहाज फर्कने बाटोमा केही चुनढुङ्गाका चट्टाने टापु थिए । टापुको तल्लो भाग समुद्री छालले छल्काउँदा चिल्लो र सिँढी आकार बनेको देखिन्थ्यो । हो, त्यो सिँढी भागमा समुद्री गिल्सजस्तै देखिने समुद्री लायन देखिए । ठुलो, मोटो हाडबिनाको जस्तो देखिने ती सी लायन चर्को आवाज निकाल्दै खचाखच, एकअर्कोसँग पेलिएर, खप्टिएर आराम गरेका थिए । ती समुद्री लायनलाई मैले पहिलो पटक देखेको हुँ । त्यसैगरी पहरोको चेपमा गँुड बनाएर बस्ने समुद्री चराको बथान देख्यौँ । चरा र सी लायनको आवाजले त्यहाँ आफ्नै वेगमा उर्लिरहेको समुद्री छाल फिका भएको थियो ।
आँखालाई सबै यात्रीले चनाखो पारेका थिए सुमद्री जीव हेर्न । नभन्दै समुद्री टापुबाट अर्कोतर्फ मोडिँदा हम्पब्याक ह्वेल पनि देख्ने अवसर मिल्यो । टाउको र ढाड देखिएको तस्वीर पनि लिन सकेँ । त्यसको लागि जहाजका क्याप्टेनले उनको अनुभवअनुसार ह्वेल ओहोरदोहोर गर्ने समय गणना गरेर जहाज रोकेर पर्खँदा रहेछन् । एक पटक डुबेपछि पुनः अर्कोतिर निस्कन आठ मिनेट लाग्ने र ह्वेल देखिने दिशाको अनुमान मिल्ने भएकाले उनले जहाज त्यतै मोड्थे । नभन्दै उनले यात्रुलाई ह्वेलले सास फेर्न पानीमाथि उफ्रेको बेला ह्वेलको चामत्कारिक उफ्राइको रूप देखाइछोडे । त्यस बेला यात्रुसहितका अन्य पानीजहाज पनि वरपर झुम्मिईसकेका थिए । हामीले दुई पटक देख्ने अवसर पायौँ । त्यस बेला मैले हाम्रो चितवन राष्ट्रिय निकुञ्जमा हात्तीमा सवार भएका पर्यटकलाई गैँडा र हरिणको बथान देखाउन हात्तीलाई जङ्गलभित्र ओहोरदोहोर गराएर माउतेले गैँडा देखाइछोडेको दृश्य झलक्क सम्झेँ ।
त्यसरी त्यो दिन समुद्रसँग जोडिएको हिमनदीको मुहान, ह्वेल, सी लायन, ओटर, पफिनसहित अन्य चराहरू हेरेर यात्रा सफल भएको खुसीको अनुभव गरेर फर्केउँ। त्यही दृश्य हेर्न पर्यटकले मैले झैँ टाढाको यात्रा तय गरेका थिए । म पनि त कम कहाँ थिएँ र ? नेपालबाट न्यूयोर्क, अनि न्यूयोर्कबाट सात घण्टाको जहाजको यात्रा गरेर अलास्का पुगेको थिएँ । त्यो ६ घण्टाको यात्रा मन र शरीरमा फुर्ती ल्याउने नौलो अनि रोमाञ्चक थियो । पानी नपरेको र ह्लेलसहित समुद्रीजीव देखाउँन पाएकोमा क्याप्टेन पनि हर्षित थिए ।
सफल यात्राको खुसियालीसहितको त्यो साँझ स्मरणीय बन्यो । साँझको आठ बजे तापनि उज्यालो थियो । सिवार्डका बार र रेष्टुराँ स्थानीय कलाकृति, भित्तेचित्र र तस्बिरले सजिएका थिए । त्यस्तै कलाले सजिएको एउटा बारमा छिर्यौँ । मैले स्थानीय तरिकाले विशेष प्रकारले बनाइएको डार्क बियर पिएँ । खाना खान भने थाइ रेष्टुराँमा छिर्यौँ । माछाको परिकार खायौँ । सुमुद्री किनारमा म्याराथन पहाडको काखमा बसेको हुनाले त्यो रातभर तन्द्रामा पनि होलगेटको सुन्दर चित्र, ह्वेलको नृत्य, सी लायनको विश्राम र समुद्री चराको चिरबिरमा रमाईरहेँ ।
