
काठमाडौँ।नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लाहरूमा देखा परेको अशान्त वातावरण र उत्पन्न तनावप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यी घटनाक्रमले सर्वसाधारणमा त्रास फैलाएको र सामाजिक सद्भावमा खलल पुर्याएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
महासंघले ती घटनाहरूमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “तराई–मधेस क्षेत्र सदियौँदेखि विभिन्न जातजाति, भाषाभाषी र समुदायहरूबीचको आपसी भाइचारा र सामाजिक सद्भावको केन्द्र रहँदै आएको छ ।”
महासंघका अनुसार, कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको हित गर्दैन । यस्ता घटनाले सर्वसाधारणको दैनिक जीवनयापनलाई कष्टकर बनाउनुका साथै उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्याउने महासंघको ठहर छ ।
