
भारतका वातावरण अभियानी सोनम वाङ्चुकले २६ दिन लामो आमरण अनसन अन्त्य गरेका छन्।
उनले बिहीबार राति गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहको उपस्थितिमा अनसन तोडेका हुन्।
सामाजिक सञ्जाल एक्समा तस्बिर सार्वजनिक गर्दै वाङ्चुकले २६ दिनपछि अनसन अन्त्य गरेको जानकारी दिएका छन्।
‘आज राति केन्द्रीय मन्त्री जेपी नड्डा र डा. जितेन्द्र सिंह तथा लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा मैले २६ दिनपछि आफ्नो अनसन तोडेको छु,’ उनले लेखेका छन्।
उनले अनसन तोड्नु अघि विभिन्न सर्तमा लामो वार्ता भएको र देशमा सम्भावित हिंसालाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको बताएका छन्।
उनले विभिन्न दलका ६५ सांसदरहरूले भेटेर तथा पत्रमार्फत अनसन अन्त्य गर्न आग्रह गरेको पनि जानकारी दिएका छन्।




