
लघुकथा
विद्रोह
सरस्वती श्रेष्ठ सरू
आज पनि गाउँघरको पुरानो नियम उस्तै थियो— महिनावारी भएकी छोरीले भान्सामा पस्न हुँदैन, मन्दिर छुन हुँदैन, घरको कुनामा बस्नुपर्छ। दाजुभाइलाई छुनु हुँदैन ।
सन्ध्या पहिलो पटक महिनावारी भएकी थिई। आमाले उसलाई छुट्टै कोठामा पुर्याउँदै भनिन्,
“चार दिन यतै बस, यही हो परम्परा ।”
सन्ध्याले सोधी,“आमा, मेरो शरीरले नयाँ चरण सुरु गरेको हो भने म किन टाढा बस्नुपर्छ रु”
आमासँग जवाफ थिएन, केवल पुरानो विश्वास थियो।
दोस्रो दिन सन्ध्या किताब बोकेर आँगनमा निस्की। हजुरआमाले कराउनुभयो,“भित्र जा, अशुभ हुन्छ १”
सन्ध्या शान्त स्वरमा बोली,
“यदि महिनावारी अशुभ हो भने हामी जन्मिनु नै अशुभ हो। किनकि हामी सबै यही प्रक्रियाको निरन्तरता हौँ।”
घर केही बेर मौन भयो।
त्यो दिन सन्ध्याले आफूलाई कोठामा बन्द गरिन। सामान्य रूपमा पढी, हाँसी, परिवारसँग बसेर खाना खाई।
आमाले पहिलो पटक भनिन्,
“परम्परा सबै सही हुँदैन रहेछ।”
त्यस दिन सन्ध्याले नियम तोडेकी थिइन, तर घरमा सम्मानको नयाँ नियम सुरु भएको थियो।

