
रौतहट । पर्साको वीरगञ्जमा रहेको ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो वार्षिक रथयात्रा बिहीबार श्रद्धा, भक्ति र अभूतपूर्व उत्साहका साथ सम्पन्न भएको छ।
विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो रथयात्राले यस वर्ष पनि आफ्नो गौरवमय परम्परालाई निरन्तरता दिँदै वीरगञ्ज सहरलाई धार्मिक र सांस्कृतिक उत्सवको केन्द्र बनाएको छ।
रथयात्रामा पर्सा, बारा, रौतहट तथा छिमेकी मित्रराष्ट्र भारतको विहार क्षेत्रबाट समेत उल्लेखनीय संख्यामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
माइस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार बिहीबार बिहानैदेखि गहवामाई मन्दिर परिसरमा विशेष पूजा–आराधना र अनुष्ठान सुरु गरिएको थियो। तान्त्रिक तथा वैदिक विधिअनुसार माता गहवामाईको विशेष महापूजा र रथको स्थापना गरिएपछि शुभ साइतमा रथयात्राको शुभारम्भ गरियो।

मन्दिर परिसरबाट सुरु भएको उक्त सांस्कृतिक नगर परिक्रमा रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुनः माईस्थान मन्दिर पुगेर विसर्जन भएको थियो। रथयात्राको सम्पूर्ण मार्गमा स्थानीय बासिन्दाहरूले आ–आफ्नो घरको छत र आँगनबाट माता गहवामाईको रथमा पुष्पवृष्टि गर्नुका साथै आरती र पूजा अर्चना गरेर स्वागत गरेका थिए।
नगरको मुख्य–मुख्य र भित्री सडकहरू भएर गुज्रिने रथयात्रालाई पूर्ण रूपमा सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय प्रशासन र आयोजकले विशेष सुरक्षा रणनीति अपनाएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा ट्राफिक प्रहरीको संयुक्त टोली ठूलो संख्यामा परिचालन गरिएको थियो।
रथयात्राको सुरुवात हुनुअघि वीरगञ्ज र आसपासका क्षेत्रमा मुसलधारे वर्षा भएको थियो । तर, उक्त वर्षाले श्रद्धालु भक्तजनहरूको उत्साह र आस्थामा कुनै कमी ल्याउन सकेन। बालबालिका, युवा, महिलादेखि लिएर ज्येष्ठ नागरिकहरूसम्म पानीमा रुझ्दै माता गहवामाईको जयजयकार गरिरहेका देखिन्थे।
यसका साथै, हाल वीरगञ्जमा भइरहेको मुख्य सडक विस्तारका क्रममा केही स्थानहरूमा भौतिक संरचनाहरू भत्काइएका कारण पैदल हिँड्न र रथ तान्न सामान्य असहजता सिर्जना भएको थियो।
सडकका खाल्डाखुल्डी र हिलोका बाबजुद पनि श्रद्धालुहरू उत्साहका साथ भक्तिभावमा रथको डोरी तान्न प्रतिस्पर्धा गरिरहेका थिए । ठाउँ–ठाउँमा विभिन्न सामाजिक संस्थाहरूले भक्तजनका लागि खानेपानी, सर्वत, फलफूल र प्राथमिक उपचारको स्टल समेत राखेका थिए।
रथयात्रा नगर परिक्रमा गरी पुनः मन्दिर परिसरमा फर्किएपछि धार्मिक विधिअनुसार साँझ ठीक ६ः०० बजे भव्य र दिव्य महाआरतीको आयोजना गरिएको छ। बनारसका विद्वान पण्डितहरूद्वारा गरिने विशेष महाआरती हेर्न मन्दिर क्षेत्रमा मानिसहरुको वाक्लो उपस्थिति रहने अनुमान छ ।
महाआरती सम्पन्न भएलगत्तै साँझ ६ः३० बजेदेखि उपस्थित भक्तजन एवं सर्वसाधारणका लागि आयोजक समितिले महाप्रसाद वितरणको विशेष व्यवस्था मिलाएको छ। प्रसाद ग्रहणका लागि व्यवस्थित लाइनको प्रबन्ध गरिएको समितिले जनाएको छ।
वीरगञ्जको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित भइसकेको गहवामाई रथयात्रा केवल एउटा धार्मिक अनुष्ठान मात्र नभएर यस क्षेत्रको सामाजिक एकताको बलियो आधार बनेको छ।
आयोजक समितिका पदाधिकारीहरूका अनुसार यस रथयात्राले वीरगञ्जमा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायलाई एउटै सूत्रमा बाँध्न मद्दत गरेको छ। यसले यहाँको ऐतिहासिक सांस्कृतिक परम्पराको संरक्षण, संवद्र्धन र आन्तरिक एवं बाह्य धार्मिक पर्यटन प्रवद्र्धनमा समेत दूरगामी र महत्वपूर्ण योगदान पु¥याउँदै आएको विश्वास लिइएको छ।








