
काठमाडौं, असार ३१। नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य एवं चर्चित खेलाडी उषा भण्डारीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
सुमिरा स्पोटर््स भेन्चरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर र स्टार आउटसाइड हिटर उषाबीच तीन वर्षका लागि सम्झौता भएको हो । सम्झौता अनुसार उषाले टोलीको प्रवद्र्धनात्मक गतिविधि र प्रचार–प्रसारमा सहयोग गर्नुका साथै अन्नपूर्ण स्पाइकर्ससँग मिलेर नेपाली भलिबलको जग (ग्रासरुट) देखि नै यसको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् ।
अन्नपूर्ण स्पाईकर्सका ओनर सुबोध त्रिपाठीले उषासँगको सहकार्यले पुरुष भलिबलको फ्रेन्चाईज लिगको विकासमा सहयोग पु¥याउने बताउदै भलिबल राष्ट्रिय खेल भएकोले नै भलिबल लिगमा पनि हामीले योगदान गर्न सकिन्छ भन्ने उद्देश्य रहेको बताए ।
उषाले पहिलो पटक भलिबलकै लिगमा भलिबल खेलाडी ब्रान्ड एम्बासडर बन्दा खुशी लागेको बताइन् ।
‘पहिलो म अन्य खेलहरु फुटबल, क्रिकेटमा जोडिएको थिए । म आफू पनि गण्डकीमा जन्मिएको र गण्डकीकै टिम अन्नपूर्ण स्पाईकरबाट पनि सुरुमै प्र्रस्ताव आएकोले मैले स्विकार गरेको हो ।’
नेपाल भलिबल लिगमा गण्डकी क्षेत्रको प्रतिनिधित्व गरिरहेको अन्नपूर्ण स्पाइकर र तनहुँ (गण्डकी प्रदेश) मा जन्मिएकी उषाबीचको यो सहकार्य विशेष र अर्थपूर्ण रहेको बताइएको छ । भलिबल प्रेमीहरूको बलियो पकड रहेको गण्डकी क्षेत्र र सोही क्षेत्रकी छोरी उषाको आवद्धताले क्लबको ब्रान्ड विस्तार गर्न र खेलाडीलाई ग्रासरुटमा जोडिन ठूलो मद्दत पुग्ने क्लबले विश्वास व्यक्त गरेको छ ।
घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट खेल्दै आएकी उषाले माल्दिभ्सका विभिन्न क्लबहरूबाट समेत व्यावसायिक भलिबल खेलिसकेकी छिन्, जहाँ उनको ठूलो फ्यान फलोइङ रहेको छ । सन् २०१९ मा मात्र १४ वर्षको उमेरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) बाट डेब्यु गरेकी उषाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् ।
केडिया ग्रुपको आयोजनामा पहिलो पटक हुन लागेको ६ वटा टोली सहभागी नेपाल भलिबल लिगमा अन्नपूर्ण स्पाइकर्स र उषाको यो साझेदारीले समग्र नेपाली भलिबलको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने क्लबको विश्वास छ ।






