
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल नेकपा एमालेबीच दूरी बढेको छ । प्रदेश सरकारको विषयमा विवाद बढेपछि काँग्रेस-एमालेबीच दूरी बढेको हो ।
विवाद बढेपछि काँग्रेसले सातै प्रदेशबाट एमालेसँगको सहकार्य अन्त्य गर्ने भएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा विवाद बढेसँगै सातै प्रदेशमा एमालेसँग काँग्रेसले सहकार्य नगर्ने भएको हो ।
कर्णालीमा एमालेका यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी काँग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन् भने सुदूरपश्चिममा काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।
कांग्रेसले औपचारिक रूपमा एमालेसँगको सत्ता गठबन्धन तोड्ने निर्णय सार्वजनिक नगरेपनि प्रदेशमा जानकारी गराइसकेको बताइएको छ ।
कर्णाली र सुदूरपश्चिम बाहेक लुम्बिनी र कोशी सरकारबाट कांग्रेस बाहिरिने छ भने काँग्रेस नेतृत्वमा रहेको गण्डकी र बागमतीबाट एमालेका मन्त्रीलाई सरकारबाट हटाइने भएको छ । मधेश प्रदेश सरकारको नेतृत्व भने कांग्रेसकै रहेको छ ।
त्यस्तै काँग्रेसले एमालेसँग दूरी बनाएपछि प्रदेशहरुमा सम्भावित नयाँ गठबन्धनका लागि नेकपासँग छलफल अगाडी बढाएको बुझिएको छ । बाहिरबाट हेर्दा कर्णाली र सुदूरपश्चिमको विवादलाई कारण बनाइएको भएपनि गगन थापा नेतृत्वको काँग्रेसले रणनीतिक रुपमा एमालेसँग दूरी बनाएको बताइएको छ ।





