
काठमाडौँ । अमेरिकाले इरानका दक्षिणी तटीय क्षेत्रमा थप हवाई आक्रमण गरेको छ ।
प्राप्त विवरणअनुसार स्ट्रेट अफ होर्मुज आसपासका बुशेहर, चाबहार, बन्दर अब्बास, सिरिक, जास्क तथा अबु मुसा टापुमा विस्फोट भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यी आक्रमणमा कम्तीमा एकजनाको मृत्यु भएको अलजजिराले जनाएको छ । चाबहारमा व्यापक रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । त्यहाँ रहेका दुईवटा बन्दरगाह तथा एउटा समुद्री ट्राफिक नियन्त्रण टावर पनि आक्रमणको निशानामा परेको छ ।
अमेरिकी सैन्य कमान्डको निर्देशनमा गरिएको भनिएको नयाँ हवाई आक्रमणपछि इरानी सञ्चारमाध्यमहरूले दक्षिणी तटीय क्षेत्रमा शक्तिशाली विस्फोट भएका जनाएको हो ।
बन्दर अब्बास र चाबहार आसपास लगातार विस्फोटका आवाज सुनिएको तथा पर्सियन खाडीमा रहेका इरान नियन्त्रित रणनीतिक टापुहरू र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका नौसैनिक अड्डाहरूलाई लक्षित गरी अमेरिकी क्षेप्यास्त्र प्रहार भएको दाबी गरिएको बीबीसीले जनाएको छ ।सैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानमा आगलागी र धुवाँ देखिएको भिडियो सार्वजनिक गर्दै लेखेका छन्, “यो हिजो इरानले जहाजहरूमाथि गरेको आक्रमणको बदला हो । यदि, यस्तो कार्य फेरि दोहोरियो भने यसको परिणाम अझ धेरै गम्भीर हुनेछ ।”
ट्रम्पले यी आक्रमणहरू स्ट्रेट अफ होर्मुजमा जहाजहरूमाथि भएको भनिएको इरानी आक्रमणको जवाफस्वरूप गरिएको दाबी गर्दै त्यस्ता गतिविधि दोहोरिए अमेरिकाले अझ कडा सैन्य प्रतिक्रिया दिने पुनः चेतावनी दिएका छन् ।
यसैबीच इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले इरानीहरूले अश्लीलताको जवाफ अश्लीलताले होइन, कामले दिने बताएका छन् ।

