
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्रोतमै फोहोर वर्गीकरण गरी ल्याण्डफिल साइटमा पुग्ने फोहोरको मात्रा घटाउने र बञ्चरेडाँडा सेनिटरी ल्याण्डफिल साइटको आयु लम्ब्याउने योजना कार्यान्वयनमा रहेको बताएकी छन्।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र वोहोरासहितका अधिकारीहरूसँग बञ्चरेडाँडा व्यवस्थापनबारे भएको छलफलमा डंगोलले महानगरले सहरका सात स्थानमा मटेरियल रिकभरी सेन्टर सञ्चालन गरी पुनः प्रयोग गर्न सकिने सामग्री छुट्याउने तयारी गरेको जानकारी दिइन्। उनले यसका लागि आवश्यक जग्गा उपलब्ध गराउने जिम्मेवारी संघ सरकारको रहेको उल्लेख गरिन्।
उनले बञ्चरेडाँडा सञ्चालन, पूर्वाधार विकास तथा स्थानीय क्षेत्रमा सञ्चालन हुने कार्यक्रमका लागि महानगरले वार्षिक करिब एक अर्ब रुपैयाँ खर्च गर्दै आएको बताउँदै फोहोर उत्पादनको अनुपातमा उपत्यकाका अन्य स्थानीय तहले पनि वित्तीय साझेदारी गर्नुपर्ने धारणा राखिन्। महानगरले सबैभन्दा बढी फोहोर उत्पादन गर्ने भएकाले करिब ५० प्रतिशत लागत आफैं व्यहोर्ने र आवश्यक परे अन्य पालिकालाई सहयोग गर्न पनि तयार रहेको उनले स्पष्ट पारिन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले फोहोर व्यवस्थापनको खर्च निरन्तर बढ्दै गए पनि अन्य निकायबाट अपेक्षित सहयोग नपाएको र स्थानीयसँग भएका विभिन्न सम्झौताका दायित्वसमेत महानगरले नै वहन गर्नुपरेकाले आर्थिक भार थपिएको बताए।
छलफलमा महानिर्देशक वोहोराले उपत्यकाबाहिरका स्थानीय तहले फोहोर व्यवस्थापनका लागि सरकारी जग्गा प्राप्त गर्ने प्रक्रिया काठमाडौँले पनि अपनाउन सक्ने भन्दै त्यसका लागि विभागले आवश्यक सहजीकरण गर्ने बताए।
छलफलमा बञ्चरेडाँडाको वातावरणीय अवस्था सुधार, पुनःप्रयोग र पुनर्चक्रणलाई प्रवर्द्धन गर्ने, स्रोतमै फोहोर वर्गीकरणलाई प्रभावकारी बनाउने तथा ल्याण्डफिल साइटको आयु बढाउने उपायबारे पनि विस्तृत छलफल भएको थियो।
हाल काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङका स्थानीय तहबाट संकलित फोहोर धादिङ–नुवाकोट सीमास्थित बञ्चरेडाँडा सेनिटरी ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ। महानगरका अनुसार करिब ५० वर्षका लागि निर्माण गरिएको उक्त साइटमा अपेक्षाभन्दा बढी फोहोर पुगेकाले यसको आयु जोगाउन फोहोरको मात्रा घटाउने र दिगो व्यवस्थापनका उपाय तत्काल कार्यान्वयन गर्न आवश्यक भएको छ।




