
लघुकथा
खाजा
ध्रुवराज थापा पुरुष
मानु रोपेर मुरी फलाउने दिन!
आहा हेर्दै मनै लोभ्याउने दृष्य !
असारे गीत घन्की रहेको थियो,
‘पाटनको भन्ज्याङ् क्या सेरो र फेरो घुमौनीमा कुलो छ ।
जिम्मल बा को खेतमा रोपाई गर्न आको, उन्को दिलै ठूलो छ sss !’
रोपारहरूले रोपाईँ गर्दा आउने छुपुछुपु आवाजले मन्त्रमुग्ध सङ्गीत छरिरहेको छ । उता रोपारको पछाडी बाउसेहरूले चलाएको कोदालीले खेत सम्याउँन बाउसे गर्दा आएको छिर्रर छिर्रर आवाज सुन्न र उनीहरूले कोदाली नचाएको हेर्न कस्लाई मन नलाग्ला र ?
अर्कोतिर कोही ब्याडमा धानको बिउ काढ्दै थिए भने कोही बिउका मुठा टाढैबाट रोपारका छेउमा फ्याँक्दै थिए । हिलोमा बिउका मुठा फ्याँक्दा पानी उछिट्टिएर रोपारका ढाडमा पर्दा रमाइलो मान्ने मान्छेहरू पनि रमाई रहेका थिए ।
यसपटक जिम्मल बाका नातिले हजुरबा कै पालाको जस्तो संस्कृति झल्कने रोपाईँको तयारी गरेका थिए । किनभने आफ्नो देशको कला र संस्कृतिको महत्व कति हुदो रहेछ भनेर उनले बेलायत बस्दा बुझेका थिए ।
ऊनले रोपार र लाठेलाई हजुरबाले जस्तै मसला पनि बाँडे । मसलामा ल्वाङ्, सुपारी, दालचिनी, नरिवल, छोकडा र मिश्री मिलाएर बाँडिएको थियो । त्यसपछि सबैलाई मोही पनि बाँडीयो ।
एउटी रोपारनीले फ्याट्ट बोलिन, ‘बेलायत बसेर आएका जिम्मल बाका नातिले यस्तो घाममा कोक फान्टा खुवाउलान् भनेको त के बाँडेको यस्तो ?’
नातीले जवाफ दिए, ‘मैले परम्परा बाँडेको!’
यतिकैमा एउटीले खले गरोको बिचमा एक मुठा धानको बिउ र बिचमा फूल राखेर त्यसको ओरिपरि धानको बाक्लो गाँजको भकारी बनाईन् । कोही हिलो छ्यापाछ्याप गरेर रमाउँदै थिए त कोही टुटेफुटेका शब्दमा असारे गीत गाउँदै धानको बिउ रोप्दै थिए । कोही करूवाले पानी घट्घट् खाँदै थिए,
खाजा खाने बेलाभयो । सबैले हात गोडा धोए ।
सबै लाठे रोपारलाई मानाले झुसी भरेर एकमानु चिउरा, बेसारे फूलको पातमा झुसे तिलको छोप हालेर बनाएको आलु र केराउको अचार अनि हरहर बास्ना चल्ने गुन्द्रुकको अचार बाँडियो ।
धेरैको मुख उज्यालो थिएन । एउटीले त मुखै फोरेर प्याच्च भनिन्,’झन आज मासु, पुलाउ खान पाईएला भनेको त के खाजा खुवाएको यस्तो?’
जिम्म बाका नातिले जवाफ दिए, ‘यो सांस्कृतिक खाजा हो, मासु पुलाउ त खाई नै रहनु भएको छ नि ! नयाँ पुस्ताले बिर्सीएको खाजा तपाईँहरूलाई खुवाउन मन लाग्यो नि मलाई!’
काभ्रे,पनौती । हाल:कपन



