
काठमाडौँ । सहआयोजक क्यानडा फिफा विश्वकप फुटबलबाट बाहिरिने पहिलो आयोजक टोली बनेको छ । अन्तिम १६ को खेलमा मोरक्कोसँग ३-० गोल अन्तरले पराजित भएपछि क्यानडाको ऐतिहासिक यात्रा टुंगिएको हो ।
पहिलो हाफमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको मोरक्कोले दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै अग्रता लिएको थियो । अचराफ हाकिमीको फ्रिकिकबाट आएको कटब्याक पासलाई अजेदिन उनाहीले पेनाल्टी क्षेत्रको किनारबाट उत्कृष्ट प्रहार गर्दै गोलमा परिणत गरेका थिए । क्यानडाका रक्षकले उनलाई रोक्न नसक्दा मोरक्कोले खेलमा नियन्त्रण जमायो ।
खेल सकिन आठ मिनेट बाँकी रहँदा उनाहीले व्यक्तिगत अवसरलाई सदुपयोग गर्दै दोस्रो गोल गरे र मोरक्कोको जित लगभग सुनिश्चित बनाए । इन्जुरी समयमा सौफियान रहिमीले गोलरक्षक म्याक्सिम क्रेपोको मुनिबाट बल छिराउँदै तेस्रो गोल गरेपछि मोरक्कोले सहज जित दर्ता गरेको थियो ।
यद्यपि खेलको सुरुआत भने क्यानडाको पक्षमा थियो । टेक्सासमा भएको खेलमा क्यानडाले सुरुदेखि नै आक्रामक दबाब सिर्जना गरेको थियो । जोनाथन डेभिड र टानी ओलुवासेयीले पहिलो ११ मिनेटमै उत्कृष्ट अवसर पाए पनि मोरक्कोका गोलरक्षक बोनोले दुवै प्रहार बचाएका थिए ।
क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्सले आफ्ना खेलाडीको सुरुआती प्रदर्शनको प्रशंसा गर्दै टोली नै खेलमा हावी भएको बताए । उनले विश्व वरीयताको सातौं स्थानमा रहेको मोरक्कोविरुद्ध आफ्नो टोली उत्कृष्ट देखिएको प्रतिक्रिया दिए ।
खेलभर दुवै टोलीबीच चर्को प्रतिस्पर्धा देखिएको थियो। अंग्रेज रेफ्री माइकल ओलिभरले खेलमा कुल आठ पहेंलो कार्ड देखाएका थिए । पहिलो हाफमा संघर्ष गरिरहेको मोरक्कोले भने दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
यस जितसँगै मोरक्को लगातार दोस्रो विश्वकपमा क्वार्टरफाइनलमा पुगेको छ । अब मोरक्कोले क्वाटरफाइनलमा फ्रान्सको सामना गर्ने छ ।
पराजयसँगै क्यानडाको पुरुष विश्वकप इतिहासकै सबैभन्दा सफल अभियान समाप्त भएको छ। यस संस्करणमा क्यानडाले पहिलो पटक विश्वकपमा अंक, जित, समूह चरण पार गर्ने उपलब्धि र नकआउट चरणको जित हासिल गर्दै नयाँ इतिहास रचेको थियो ।



