
काठमाडौँ । काठमाडौँको ठमेलस्थित कमलपोखरी मासेर छाया सेन्टर निर्माण भएको सम्बन्धी विवाद पछिल्लो समय पेचिलो बन्दै गएको छ । भगवान् गुठी अर्थात् राज गुठी मातहत रहेको कमलपोखरीसहितको जग्गा व्यक्तिको नाममा दर्ता भई किनबेच भएपछि सो विवाद सर्वोच्च अदालतसम्म पुगेको हो । बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान् बहाल अगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेका नाममा व्यापारिक कम्प्लेक्स बनाएपछि २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतका १५ थान मुद्दा सर्वोच्चमा परेको थियो । उनीहरूले छाया सेन्टर भत्काउन माग गरेका थिए ।
छायादेवी सेन्टर बनेको कमलपोखरीको जग्गामा मोही हक लाग्छ कि लाग्दैन भन्ने प्रश्नमा अदालतले व्याख्या गर्नुपर्नेछ । सो जग्गा कमलपोखरी रहेको विषयमा कुनै विवाद छैन । सर्वोच्चमा पेस भएको २०३३ सालको फिल्ड बुकमा पनि सो जग्गा पोखरीको नाममा छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५, उपदफा ५ (ग र घ)ले ‘नेपाल सरकारको स्वामित्व भएको जग्गा कमाउने व्यक्ति वा औद्योग व्यवसायका निमित्त नेपाल सरकारले तोकिदिएको जग्गा कमाउने व्यक्ति’लाई मोहीको हक नलाग्ने भनेको छ । साबिकदेखि खेती गरी नआएको बागबगैंचा भएको वा तोकिएको सहरबजारको पर्ती गुठी जग्गामा मोहियानी हक पाउनेछैन ।
कमलपोखरीको हकमा ऐतिहासिक दस्ताबेज, नापीनक्सा र स्थानीय साक्षी हुँदाहुँदै पोखरीमा मोहियानी हक दिइएको छ । मालपोत ऐन २०३४ दफा २४ प्रतिकूल रहेको भन्दै सर्वोच्चले १० चैत २०७३ सालमा पुनरावेदनको फैसला त्रुटिपूर्ण भनिसकेको छ । संशोधित गुठी संस्थान ऐन ३०३३ को दफा २७ ले ‘गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुनबमोजिम मोहियानी हक पाउने’ व्यवस्था गरे तापनि त्यही ऐनको दफा २५ (४)मा ‘देवस्थल रहेका वा देवीदेवता देवस्थल पर्वपूजा जात्रासँग सम्बन्धित धार्मिक एवं सार्वजनिक पर्ती जग्गा कुनै व्यक्तिको नाममा दर्ता गरिने छैन । त्यस्तो जग्गा दर्ता गरिएको रहेछ भने पनि संस्थानले त्यस्तो जग्गाको दर्ता बदर गर्न सक्ने’ व्यवस्था गरेको छ । अर्कोतर्फ राजगुठीमा कसैको भोगचलन लाग्दैन ।
राजगुठीमा व्यक्तिको हकभोग लाग्ने भए अन्य ठाउँको जग्गा पनि सबै व्यक्तिको बनाउन पाइन्छ त भन्ने प्रश्न उठ्छ । यदि कमलपोखरीलाई व्यक्तिको नाममा बनाउन मिल्ने भए देशभरका सार्वजनिक गुठीको जग्गा व्यक्तिको नाममा बनाउन बिचौलियालाई सहज वातावरण बन्नेछ । १० चैत २०७३ सालमा भागवतनरसिंह प्रधानको ‘गुठी रैतानी निर्णय बदर गराइपाऊँ’ भन्ने मुद्दामाथि न्यायाधीशद्वय जगदीश शर्मा पौडेल र केदारप्रसाद चालिसेको संयुक्त इजलासबाट भएको निर्णयमा निवेदकको दाबीलाई तथ्यपरक ठह¥याउँदै मुद्दा अगाडि बढाउन निस्सा प्रदान गरिएको मात्र नभई त्यसअघि जिल्ला र पुनरावेदन अदालतले अम्बिका राणाको पक्षमा गरेको निर्णय पनि त्रुटिपूर्ण छ भनेको छ । सर्वोच्च अदालतले यसअघि नै नजिर स्थापित गर्दै गुठी संस्थान र अदालतको मिलापत्रकै आधारमा गुठीअन्तर्गतको कमलपोखरीलाई मोही हक कायम गर्न नमिल्ने भनेको छ ।
अदालतले विभिन्न फैसलाबाट प्रतिपादित सिद्धान्तको प्रतिकूल भन्दै पुनरावेदन अदालतको फैसलालाई त्रुटिपूर्ण भनेको छ । आदेशले तत्कालीन प्रधानन्यायाधीश केदारप्रसाद गिरी र न्यायाधीश अनुपराज शर्माले २३ मंसिर २०६५ सालमा काठमाडौं जितपुरफेदीका सूर्यप्रसाद धितालविरुद्धको मुद्दामा स्थापित नजिरलाई आधार मानेको छ । सो मुद्दामा दर्ता कायम नै नरहेको जग्गा अनधिकृत रूपमा मिलापत्रमा उल्लेख गर्दैमा हक कायम हुने स्थिति नहुने नजिर स्थापित भएको छ । पुनरावेदनको फैसलालाई त्रुटिपूर्ण भन्दै पहिलो कारणमा सर्वोच्चले भनेको छ, गुठी संस्थान ऐन २०३३ को दफा २५ (४) प्रतिकूल भनेको छ ।
सो दफामा देवस्थल रहेका वा देवीदेवता देवस्थल पर्वपूजा जात्रासँग सम्बन्धित धार्मिक एवं सार्वजनिक पर्ती जग्गा कुनै व्यक्तिको नाममा दर्ता नगरिने उल्लेख छ । त्यस्तो जग्गा दर्ता गरिएको रहेछ भने पनि संस्थानले त्यस्तो जग्गाको दर्ता बदर गर्न सक्नेछ । संस्थानले आफैंले गरेको निर्णयलाई ऐनको यसै दफालाई टेकेर बदर गरेको थियो । जिल्ला र उच्च अदालतले सोही बदर निर्णयलाई नै बदर गरिदिँदा पोखरीको जग्गा व्यक्तिको नाममा गएको देखिन्छ । दोस्रो, पुनरावेदनको फैसला गुठी संस्थान ऐन २०३३ को २६ (४) प्रतिकूल रहेको सर्वोच्चको आदेशमा उल्लेख छ । सो दफाले दर्तावाला मोहीको हक समाप्त भई आफ्नो हक हुन आउने खास जोताहा किसानले उपदफा ३ मा तोकिएबमोजिमको क्षतिपूर्तिको रकम दाखिल नगरेमा वा उपदफा ३ (ख) बमोजिम बक्यौता कुत तोकिएबमोजिम नतिरेमा सो जग्गाको कुत नतिरेसरह कारबाही गरी सो जग्गामा तोकिएको दस्तुर लिई अर्को मोही कायम गर्न सकिने भनेको छ । तेस्रो, गुठी संस्थान ऐन २०३३ को २७ (ख)लाई बेवास्ता गरेको सर्वोच्चको टिप्पणी छ । मोहियानी हक लाग्ने’bout यो दफामा भनिएको छ, ‘साबिकदेखि खेती गरी नआएको बागबगैंचा भएको वा तोकिएको सहरबजारको पर्ती गुठी जग्गामा मोहियानी हक पाउनेछैन । कमलपोखरीको हकमा ऐतिहासिक दस्ताबेज, नापीनक्सा र स्थानीय साक्षी हुँदाहुँदै पोखरीमा मोहियानी हक दिइएको छ । मालपोत ऐन २०३४ दफा २४ प्रतिकूल रहेको भन्दै सर्वोच्चले पुनरावेदनको फैसलामा चौथो त्रुटि औंल्याएको छ ।
सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा दर्ता गर्न वा आवाद गर्न नहुने’bout यो दफामा भनिएको छ, ‘सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता वा आवाद गर्न गराउनुहुँदैन ।’ त्यस्तै, कसैले सो दफा प्रारम्भ हुनुभन्दाअघि वा पछि सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी आवाद गरेकोमा त्यस्तो दर्ता स्वतः बदर हुने पनि उल्लेख छ । त्यस्तो जग्गा व्यक्ति विशेषका नाउँमा रहेको दर्ता लगतसमेत मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले कट्टा गर्ने ऐनमा प्रस्ट छ । यसैगरी, सरकारी, सार्वजनिक वा सामुदायिक जग्गासम्बन्धित मालपोत कार्यालयले दर्ता गरी तोकिएबमोजिमको अभिलेख अद्यावधिक राख्नुपर्नेछ । यसमा पनि पुनरावेदन अदालतको त्रुटि औंल्याइएको छ ।
