
धूलिखेल । नेपाल बार एशोसियसन,जिल्ला अदालत काभ्रे बार एकाईको विशेष साधारण सभा सम्पन्न भयो ।
शनिबार जिल्ला बार भवनको सभाकक्षमा इकाई अध्यक्ष अधिवक्ता विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा सभा भएको हो ।
विशेष साधारण सभाको प्रस्तावहरु प्रस्तुत गर्दै अध्यक्ष सापकोटाले विशेष साधारण सभा गर्नुपर्नाको कारण समेत राखेका थिए इकाईको कार्यसमितिको पदावधि सकिँदा पनि निर्वाचन हुन नसकिरहेको परिस्थितिमा २५ जना सदस्यले विशेष साधारण सभा बोलाउन संयुक्त हस्ताक्षर सहितको निवेदन दर्ता भएपछि विधान अनुसार साधारण सभा गरिएको बताए ।

उनले कार्यसमितिका
केही साथीहरुले बैठकमा कोरम नपुर्याइदिने,रित पूर्वक सदस्यताको लागि आवेदन दिने कानून ब्यवसायीहरुको निवदेनमा निर्णय हुन नसक्ने जस्ता समस्या आएको पनि बताए । उनले सभा समक्ष राखेको निर्वाचन मिति घोषणा,साधारण सभा,निर्वाचन समिति चयन, पदहस्तान्तरण कार्यक्रमको मिति चयन र सदस्यता सँख्या कायम जस्ता प्रस्तावह्ररु सर्वसम्मतले पारित गरिएको बताइएको छ ।

अध्यक्ष अधिवक्ता सापकोटाका अनुसार आगामी कार्तिक ३ गते समितिको निर्वाचनको मिति तोकिएको र पूर्व अध्यक्ष अधिवक्ता कृष्णप्रसाद सापकोटा संयोजक रहेको अधिवक्ता प्रदीप सापकोटा र अधिवक्ता प्रतिमा केसी सदस्य रहेको निर्वाचन समिति चयन गरिएको छ भने साधारण सभा तथा पदभार हस्तान्तरण आगामी मंसिर २९ गते हुने भएको छ ।
उक्त विशेष साधारण सभामा संस्थापक अधिवक्ता विष्णुप्रसाद पााण्डे,पूर्व अध्यक्षहरु अधिवक्ता कृष्णप्रसाद सापकोटा र अधिवक्ता देवकुमार मोक्तानले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अधिवक्ता विजयभक्त श्रेष्ठले गरेका थिए ।


