
काठमाडौ। एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका दर्जनौं नेता एमालेमै फर्कने तयारीमा लागेका छन् ।
समाजवादीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीसहितका नेताहरु एमाले फर्कने तयारीमा लागेका हुन् । पछिल्लो समय झाँक्रीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गर्दै आइरहेकी छन् ।
२०७७ पुस ५ र २०७८ वैशाख ८ मा दुईपटक संसद् विघटन गरेपछि ओलीप्रति निकै आक्रामक माधवकुमार नेपालसहितका नेताहरूले एमालेबाट विद्रोह गर्दै एकीकृत समाजवादी बनाएका थिए । एकीकृत समाजवादी गठनमा झाँक्रीले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । त्यसयता उनी ओलीको कटु आलोचकका रूपमा देखिन्थिन् । एकीकृत समाजवादीमा उनको मनमुटाव बढ्दै गएको छ ।
पछिल्लोपटक सांसद किसान श्रेष्ठ र झाँक्रीले ओलीसँग भेट गरेका थिए । भेटमा समाजवादी छोडेर एमाले प्रवेश गर्नेलाई लिन ओली तयार रहेको बताएको स्रोतले जनाएको छ । झाँक्री र श्रेष्ठसहित पाँच सांसदहरू नै एमालेमा आउने कुरा भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।


