
काठमाडौँ ।साहित्यकार प्रार्थना खनालको लघुकथाकृति ‘शान्तविजय’को आइतबार लोकार्पण भयो ।
हाम्रो लघुकथा केन्द्र,नेपालका अध्यक्ष डा.शेखरकुमार श्रेष्ठ को सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व कथाकार प्रार्थना खनालको ९३ वर्षीय बुबा विजय खनालको प्रमुख अतिथि रहेका थिए ।
आमाबाबुमा नैै समर्पित कथाकृतिको शीर्षक पनि आमाबाबुको नामबाट नै जुराइएको हो।
प्रमुख आमन्त्रित व्यक्तित्व विजय खनालले आफ्नो मन्तव्य राख्दै छोरीले आफ्नो नाम राखेर कृति प्रकाशन गरेकोमा खुसी व्यक्त गरेका थिए।लेखक छोरीलाई आशीर्वाद दिंदै उनले एउटा हिन्दी गीत गाएर सुनाएका थिए।
कार्यक्रमका सभापति हाम्रो लघुकथा केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठले पूर्व मेचीदेखि पश्चिम महाकाली र पहाड देखि तराईसम्मका सर्जकहरूको उपस्थितिमा केन्द्रले एउटा नयाँ कृतिको विमोचन गर्ने अवसर पाएकोमा आभार प्रकट गरेका थिए।
विमोचित कृतिका बारेमा संक्षेपमा समीक्षा गर्दै कथाकार मन्दिरा मधुश्रीले खनालका कथाहरूले सरल र सकारात्मक भाव बोकेका छन् भनेर बताइन्।उनका कथामा पौराणिक तथा धार्मिक कुरा,समसामयिक घटना,अध्यात्म,दर्शन,ज्ञान विज्ञानका कुरा,आधुनिक प्रविधि र त्यसको प्रयोग र महत्त्व अनि मानवीय संवेदना र सम्बन्धका कुराहरू रहेको बताइन्।
त्यसैगरी,उनले खनालका कथामा मौलिक संस्कृति,चाडपर्व र आदर्श समाजको कल्पना समेत भएको बताउँदै कथामा शारीरिक अङ्ग पनि पात्र बनेर आएका छन् र ती पात्रहरूले आफ्नो चरित्र राम्रोसँग निर्वाह गरेका छन् भनेर बताइन्।
श्रीओम श्रेष्ठ’रोदन’,प्रा.पुरुषोत्तम दाहाल,खेमराज पोखरेल, लता केसी,भानुभक्त जोशी,रामचन्द्र कुशवाह तथा डा.अमर राज जोशीले मन्तव्य राख्दै कथाकार खनालको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पारेका थिए।
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै देउडा संस्कृतिका कलाकार नन्दकृष्ण जोशीले कार्यक्रमलाई एउटा पारिवारिक जमघट भएको बताए।
कथाकार प्रार्थनाले बझाङ को संस्कृतिलाई दुई किसिमले उजागर गरेको बताउँदै कृति भित्रका दुई कथाका बारेमा चर्चा गरेका थिए।देउडा गीतकार नन्दकृष्ण जोशीले देउडा गीत गाएर सबैलाई हँसाएका थिए।
विमोचित कृतिभित्रबाट वन्दना घिमिरे,शान्ता तिमिल्सिना, सुनिता निरौला पौडेलले कथा वाचन गरेर सुनाएका थिए। केन्द्रकी उपाध्यक्ष सत्या अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन्।
कथाकार प्रार्थना खनालले आफ्नो लेखकीय मन्तव्य राख्दै आफ्नी दिवङ्गत आमा शान्ताको स्मरणमा भावुक बनेकी थिइन्।सानैदेखि लेख्ने बानी भए पनि छपाउन अल्छी गरेको बताउँदै उनले आफ्नो प्रेरणाको स्रोत श्रीमान् नन्दकृष्ण जोशी भएको बताइन्।आफ्नो लेखनको पहिलो पाठक पनि श्रीमान् नै भएको र उनको मार्गदर्शन तथा लघुकथा केन्द्रको सहयोगमा कृति प्रकाशन हुन सकेकोमा सबैप्रति आभार व्यक्त गरेकी थिइन्।
लघुकथा केन्द्रको तर्फबाट कथाकार प्रार्थना खनाललाई प्रशंसापत्र प्रदान गरिएको थियोे।