काठमाडौं । नेपाली मौलिक पेय पदार्थ मही अब चारतारे होटलको मेनुमा पनि समावेश भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा होलिडे इन एक्सप्रेस होटल, नक्सालका सञ्चालक नरेशलाल श्रेष्ठले आफ्नो प्रतिबद्धता पूरा गर्दै आइतबारदेखि होटलमा बस्ने स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गर्दै होटलको मेनुमा महीलाई पनि समावेश गरेका हुन् ।
नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दही–चिउरा प्रवद्र्धन तथा उपभोग कार्यक्रममा श्रेष्ठले स्टार होटलहरूमा पनि मही उपलब्ध गराउने प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता कार्यान्वयन भएपछि एसोसिएसनले उनको पहलको स्वागत गर्दै धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
होटलमा मही समावेश गर्नुको उद्देश्य नेपालको मौलिक उत्पादन, संस्कृति र परम्परालाई स्वदेशी तथा विदेशी पाहुनामाझ प्रवद्र्धन गर्नु रहेको श्रेष्ठले बताए । उनका अनुसार नेपाली मौलिक परिकार र पेय पदार्थ विदेशी पर्यटकसम्म पु¥याउन सके पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेछ । ‘नेपालको संस्कृति, परम्परा र स्थानीय स्वादको अनुभव लिएर फर्किएका पर्यटकहरूले विदेशमा पनि नेपालको सकारात्मक प्रचार गर्नेछन्,’ उनले भने, ‘यसबाट पर्यटनसँगै कृषि र स्वदेशी उत्पादनको प्रवद्र्धनमा समेत टेवा पुग्नेछ ।’
श्रेष्ठले नेपाल डेरी एसोसिएसनले लामो समयदेखि मही प्रवद्र्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यको हैसियतले पनि यस्तो अभियानलाई साथ दिनु आफ्नो दायित्व भएको बताए । उनले मही स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक भएकाले यसको व्यापक प्रचारप्रसार आवश्यक रहेको धारणा व्यक्त गरे ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले चारतारे होटलको मेनुमा मही समावेश हुनु नेपाली डेरी उद्योग र मौलिक खाद्य संस्कृतिको प्रवद्र्धनका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले यस पहलले नेपाली मौलिक पेय पदार्थलाई अन्तर्राष्ट्रिय पाहुनामाझ परिचित गराउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अन्य स्टार होटलहरूले पनि यस्तै अभ्यास अपनाउने अपेक्षा गरे ।

