
गन्तव्य
ऐतिहासिक,प्राकृतिक र धार्मिक गन्तव्य रानिकोट
प्रदीप सापकोटा
काठमाडौँ राजधानी धुँवा,धुलो,प्रदुषणग्रस्त छ । ट्राफिकको अव्यवस्थित जाम उस्तै । मान्छको कोलाहल र भीड त्यस्तै । यहिबाट अलिक पर्तिर प्राकृतिक रुपले मनोरम,स्वच्छ र शान्त वातावरणको स्थान जाने रहर यहाँको हुनसक्छ । यहाँको यस्तै गन्तव्य बन्न सक्छ रानिकोट।
काभ्रे र भक्तपूरको सीमा नाकामा पर्ने रानिकोट। काठमाडौँबाट २२ किलोमिटर तथा सूर्यविनायक चोकबाट जम्मा ६ किलोमिटर दक्षिणमा पर्दछ । आन्तरिक तथा बाह्य दुबै पर्यटकहरुको रोजाइमा पर्नसक्ने उत्कृष्ट गन्तव्य हो यो । पक्की सडकमार्ग भएको रानिकोट पुग्न थोरै मात्र कच्ची सडक छ । पहाडी भाग भएकोले प्राकृतिक रुपले गर्दा समयसमयमा पहिरोले बाटोमा दुःख दिइरहन्छ । नत्र त कहाँ ढाटा छ र रानिकोट।
गणेशस्थानको पाउबाट ४ सय मिटरजति पूर्वदक्षिण पुगेपछि दाहिने सडक अलिअलि उकालो उक्लिँदै गर्दाको आनन्द नै छुट्टै नि । माथि पाइलटबाबा आश्रम,घ्याम्पेडाँडाहुँदै जाँदा केही होटलहरु भेटिन्छन् । जीप लाइन पनि त्यहाँ सञ्चालनमा छ । त्यतातिरबाट गुण्डुको मनमोहक मादकपूर्ण छरिएका बस्तीहरु देखिन्छन् भने उपत्यका नदेखिने कुरै भएन ।
रानिकोट पुगेपछि उत्तरतिर फर्कँदा नगरकोट,चाँगुनारायण पर्दछन् । उत्तरतिरको हिमाली श्रृँखलाको सुन्दर दृश्यले कसको मन मोहित नपार्ला । रानीकोट हाइकिंग र भ्यू प्वाइन्टको लागि पनि राम्रो गन्तव्य हो ।
पुरानो नाम दोलापर्वत भनिएको यो ठाउँ उतिबेलाका राजाले आफ्नी रानीको प्रेमलाई प्रकट गर्न रानिकोट दरबार बनाएको मिथक पनि छ । रानिकोटको त्यहि दरबार,गढीको भग्नावशेष यहाँ अद्यपी छँदैछ । रानीको किल्ला हो रानिकोट गढी । यसैगरी सुरक्षाका दृष्टिले पनि सुरक्षित ठाउँ मानिन्थ्यो । मल्लकालीन बेला काठमाडौँ उपत्यकाको सूरक्षा र निगरानीका लागि यो गढी निर्माण गरिएको पनि मानिएको छ । यसैले सामरिक रुपमा पनि यसको महत्व रहेको बुझ्न गाह्रो पर्दैन ।रानिकोट गढीमा जान अहिले सिंढी र बार हालिएको छ । त्यहाँ पुगेपछि अहिलेपनि पुरानो किल्लाको भग्नावशेष देख्न सकिन्छ । किल्लाको उत्खनन गर्दा तरबार फेला पारेको भन्ने पनि पुरातत्व विभागले जनाएको थियो ।

यसैले यसको ऐतिहासिक महत्व बुझ्न गाह्रो पर्दैन ।नेपालको पुरानो शैन्य इतिहास जोगाएर राखेको छ रानिकोट गढीले । नेपाल एकिकरणको बेला पृथ्वी नारायण शाहले उपत्यकाको सुरक्षा र निगरानीको लागि रणनीतिक किल्लाको रुपमा गढीलाई प्रयोग गरिएको मान्यता रही आएको छ । उतिबेलाका राजाहरुले उपत्यकाको त्यो अस्तव्यस्तताबाट पर रहेर प्राकृतिक सौन्दर्यको मज्जा लिंदै विश्राम गर्ने थलो रहेछ रानिकोट ।
रानिकोटको बाघभैरव मन्दिर मानव आकृति भएको मूर्ति नभएर बाधको स्वरुपमा रहेको प्राकृतिक ढुंगाको मूर्ति रहेको छ ।रानिकोट क्षेत्र प्रकृति र अध्यात्मको संगमस्थल हो ।हरेक आइतबार प्राकृतिक शिलाकै रुपमा रहेको बाघभैरवको दर्शन गर्यो भने राम्रो हुन्छ भनिन्छ ।विभिन्न जातिको आस्थाको केन्द्र बनेको छ बाघभैरव । अनुसन्धान हुन नसकेको बाघभैरव नजिकको चुचे पहराको प्राकृतिक अबस्थाको अबलोकन पनि यहाँले गर्न पाउँनुहुन्छ ।

यसको आसपासमा नेपाली ससाना गाउँवस्ती र जंगलको हरियाली दृष्यले तपाईँलाई मोहित बनाउँछ ।यहाँको जंगल सफारीको आनन्द छुट्रटै हुनसक्छ ।यहाँ उत्तरको हिमालबाट आउने चिसो गर्मीमा तपाईँको मनलाई आल्हादित गराउन सक्छ । यहाँको आसपासका जंगलमा पाइने विभिन्न प्रजातिका रैथाने चराहरुको चिरविरले मनलाई आनन्दित पार्छ ।
यहाँ प्राकृतिक सौन्दर्यले मोहित नहुने को होला। समुन्द्र सतहबाट करिब २ हजार मिटरको उचाईमा अबस्थित रानिकोट काभ्रेको पनौती नगरपालिका र ललितपूर जिल्ला पनि जोडिन्छ । अद्भूत आनन्दमय दृश्यावलोकन गर्न पाइने यो ठाउँबाट जुगल,गौरीशंकर,लाङटाङ,दोर्जे लाक्पा जस्ता हिमाल हेर्न पाइन्छ ।
हाइकिङ गर्नेहरुका लागि सूर्यविनायकबाट शुरु गर्न सकिन्छ । यहाँ सल्ला,उतिसका रुखहरु भएको जंगल छ । जहाँ कालिजका विभिन्न प्रजाति सहितका अन्य थुप्रै चराचुरुङ्गीहरु देख्न पाइन्छ । मृग, बँदेल, हरिण, चितुवा जस्ता जंगली जनाबरहरुस ङ्ग जम्का भेट पनि हुनसक्छ । यसैगरी जडिबुटी र दुर्लभ बनस्पति पनि पाइन्छ ।
यहाँ र यहाँ वरपरका सुन्दर प्राकृतिक दृश्यको पृष्ठभूमिमा फोटोग्राफी लिनुको मज्जा पनि छुट्टै छ । यसैगरी रातीको समयमा काठमाडौँका तीनै शहरको दृश्य एकैसाथ अवलोकन गर्न पनि मज्जै हुन्छ । सुुर्योदय र सुर्यास्तको मनोरम दृश्यापान पनि त गर्न पाइन्छ ।अलिक परतिर गएपछि अर्गानिक खेतीमा उत्पादित तरकारीहरु यहाँहरुले पाउनसक्नुहुन्छ । यसैले भन्न सकियो ग्रामिण पर्यटनको पनि यो एक हब बन्न सक्छ ।

त्यहाँ दुग्ध व्यवसाय पनि छ नि । केही किलोमिटर दक्षिणतिर मानेदोभान झर्नुभयो भने ट्राउड फार्महरु तपाईँको स्वागतार्थ देखिन्छन् फुलचोकीको काखमुनी ।यहाँबाट हाइकिंग गर्दै जान सक्नुहुन्छ पनौती । दक्षिण- पश्चिम जानुभयो भने ललितपूरको लाँकुरीभञ्ज्याङको सौन्दर्यपान गर्न पाउँनु हुन्छ । अलिक झरेर पूर्व लाग्नुभयो भने आशापुरेश्वर महादेवको दर्शन गर्न पाउनुहुन्छ । नजिकै छ,डोलेश्वर महादेवको मन्दिर ।
रानिकोट,राजधानीको व्यस्ततालाई चिर्ने उपर्युक्त स्थान हो । शान्त,सौम्य र सुन्दर ठाउँ हो यो ।बस्ने गरी जानुपर्ने भए त्यहाँ राम्रा,अत्याधुनिक र सुविधासम्पन्न होटल,रिर्सोट र होमस्टेहरु छन् । जहाँ अर्गानिक स्वादमा खाना सहित आरामदायी बसाई मिल्छ ।
यहाँ साधारण होटलदेखि सुविधासम्पन्न होटल,रिसोर्ट छन् । सुन्दर र शान्त वातावरणको निम्ति एशियाली ट्राभल अवार्ड साटामा मनोनयनमा परेको भिलेज हाईल्याण्ड रिसोर्टदेखि रानिकोट हाइकिङ रिसोर्ट, पानोरमा भ्यू टावर रिसोर्ट,सेभेन केएम हिल स्टेशन आदि होटल,रिसोर्टहरु रहेका छन् ।

आन्तरिक पर्यटनको लागि राम्रो गन्तव्य बन्न सक्ने ठाउँ हो रानिकोट । आउनुहोस,छोटो तर सुन्दर स्थानलाई गन्तव्य बनाउन चाहानेहरुलाई रानिकोट स्वागत गर्न तम्तयार छ ।






