
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित गेटवे एड्भेन्चर हब क्लाइम्बिङ सेन्टरमा यही असार २७ र २८ गते ‘टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६’ हुने भएको छ ।
नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको मार्गदर्शनमा काठमाडौं उपत्यका विशेष समिति तथा बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त आयोजनामा च्याम्पियनसिप हुने लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
आयोजकका अनुसार प्रतियोगिता २०२६ जुलाई ११ र १२ (असार २७ र २८) मा गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित गेटवे एड्भेन्चर हब क्लाइम्बिङ सेन्टरमा आयोजना हुनेछ । प्रतियोगिताको उद्घाटन समारोह जुलाई ११ बिहान ७ बजे तथा पुरस्कार वितरण समारोह जुलाई १२ अपराह्न ४ बजे हुनेछ ।
नेपालमा ओलम्पिक विधाको रूपमा विकास हुँदै गएको क्लाइम्बिङ खेलको प्रवद्र्धन तथा प्रचार–प्रसारमा सञ्चार माध्यमले पुर्याएको योगदानप्रति आभार व्यक्त गरेको छ । साथै प्रतियोगिताको सफल आयोजनाका लागि सहयोग पुर्याएको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामालाई विशेष धन्यवाद ज्ञापन गरिएको छ ।
प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा क्लाइम्बिङ खेलको विकास, नयाँ प्रतिभाको पहिचान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन तथा युवालाई साहसिक र स्वस्थ खेल गतिविधितर्फ आकर्षित गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा दुई विधामा प्रतिस्पर्धा हुनेछ । ‘टप रोप क्लाइम्बिङ’ खुला प्रतिस्पर्धा हुनेछ, जसको दर्ता शुल्क ५०० रुपैयाँ तोकिएको छ । यो विधा विशेषगरी नयाँ तथा प्रारम्भिक खेलाडीलाई लक्षित गरिएको हो ।
त्यसैगरी ‘लिड क्लाइम्बिङ’ पुरुष तथा महिला खुला प्रतिस्पर्धाका रूपमा सञ्चालन हुनेछ । सहभागी हुन नेपाली नागरिक, कम्तीमा १७ वर्ष उमेर पुगेको हुनुपर्ने तथा दर्ता शुल्क २,५०० रुपैयाँ तोकिएको छ ।
यद्यपि कुनै क्लाइम्बिङ वाल, क्लाइम्बिङ क्लब वा सम्बन्धित क्लाइम्बिङ संघको सिफारिस पत्र तथा प्रशिक्षकको नाम र सम्पर्क विवरण पेश गर्ने खेलाडीका लागि दर्ता शुल्क ५०० रुपैयाँ मात्र लाग्ने व्यवस्था गरिएको छ ।
टप रोप क्लाइम्बिङतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिड क्लाइम्बिङतर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
यसका अतिरिक्त उत्कृष्ट प्रदर्शन गर्ने १० जना खेलाडीलाई विशेष प्रतिभा पुरस्कार प्रदान गरिनेछ । उक्त पुरस्कारको स्वरूप प्रतियोगिताकै क्रममा सार्वजनिक गरिनेछ ।
आयोजकले नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनद्वारा यसअघि आयोजित आधिकारिक प्रतियोगितामा सहभागी भइसकेका खेलाडीले टप रोप क्लाइम्बिङमा भाग लिन नपाउने स्पष्ट गरेको छ ।
तथ्य लुकाएर सहभागिता जनाएको पुष्टि भएमा सम्बन्धित खेलाडीको नतिजा, अंक तथा स्थान स्वतः अमान्य हुने जानकारी पनि दिइएको छ ।
प्रतियोगिताले नेपालका उदीयमान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार पार्नुका साथै भविष्यमा एसियाली च्याम्पियनसिप तथा ओलम्पिकमा नेपाललाई प्रतिनिधित्व गर्न सक्ने खेलाडी उत्पादनमा योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ ।
आयोजकले क्लाइम्बिङ खेलाडी, प्रशिक्षक, क्लाइम्बिङ सेन्टर, खेलप्रेमी तथा साहसिक खेलकुदमा रुचि राख्ने सबैलाई प्रतियोगितामा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ ।


