
चर्चामा पुस्तक
सतीश्राप र श्रापमुक्ति
बिन्दुराज अधिकारी कृत यो कृतिभित्र ऐतिहासिक,साँस्कृतिक एवं राष्ट्रिय भावना अभिव्यक्त भएको छ । नेपालमा उहिल्यै उन्मूलन भएको सतीप्रथा र यसका सामाजिक असरका बारेमा स्पष्ट धारणा राखिएको छ । सती प्रथाप्रतिको मनोविज्ञान पनि यहाँ बुझ्न सकिन्छ । सतिप्रथाको इतिहास,त्यसका समाजमा हिजो भएका अभ्यास,नेपालको सन्दर्भमा त्यसको प्रकृया,कसरी त्यसमाथि प्रतिबन्ध लाग्यो,श्राप केहो ? कहिलेबाट सुरु भयो ?यसको कथा लगायतका कुराहरु यहाँ समेटिएका छन् ।
सरल भाषाशैलीमा लेखिएको यस पुस्तकले हिजोको अमानवीय सती प्रथाको सम्पूर्ण जानकारी पाठकलाई दिन्छ । रोचक छ पुस्तक ।
सतीश्राप र श्रापमुक्तिलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.३५०। रहेको छ ।
मुटु फलाम भएर
अग्रज कवि राजेश ढुंगानाको तेस्रो कवितासङ्ग्रहभित्र ४५ थान कविताहरु समावेश गरिएका छन् । कवितामा विभिन्न विषयहरु राखेर पर्गेलेर सिर्जना गरिएका छन् । मानवीय संवेदना,मनका भाव,समकालीन समयको सचेत स्वर,ज्ञान,विज्ञानको नजिक रहेर सिर्जित कविताहरु छन् । यसकृतिमा समावेश कविताहरु अध्यात्म र मनोविज्ञान सन्निकट पनि छन् । कवितामा जीवनको अस्तित्व खोजिएको छ । कोरोना कहर जस्ता दैवीविपत्तिको बारेमा लेखिएको छ ।
सरल,शान्त र सुलोलित भावमा कविताहरु बगेका छन् । सुन्दर विम्बले कविता झनै सुन्दर बनेका छन् । आयामका हिसावले छोटा कविता छन् ।
मुटु फलाम भएर लाई मुकुन्द ढुंगानाले प्रकाशनमा ल्याएका हुन् । यस कृतिको मूल्य रु.४००। रहेको छ ।
मधुरिमा
मीरा न्यौपाने गजुरेलको मुक्तकसङग्रहभित्र २ सय ९९ थान मुक्तकहरु अटेका छन् । जीवन दर्शन,मानवीय संवेदना,प्रेम,सम्बन्ध,राजनीतिक व्यङ्ग्यचेत,देशको वर्तमान दुर्दशा,जीवनवादी चेत,देशप्रेम,संघर्ष, उत्प्रेरणा, नैतिक मूल्य र मान्यता,धैर्यता, प्रवासीका पीडा र दैनिकी,मातृप्रतिको सम्मानभाव,राजनीतिक चेत लगायतका विषयहरुले मुक्तकमा स्थान पाएका छन् ।
विषयवस्तुको सघनता,कथ्यको क्रमवद्धता, उत्सुक पार्ने भाव मुक्तकमा पाइन्छ । मुक्तकलाई सुत्रमा बाँधिएको छ । रुवाई शैलीमा संरचित छन् ।अन्त्यअनुप्रास मिलेका मुक्तकहरु सुसंगठित लाग्छन् । भाषाको दृष्टिले सरल छन् मुक्तकहरु ।
मधुरिमालाई हामी र हाम्रो कृति समाजले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३००। रहेको छ ।

