
काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत आज राति देखि समुह चरणका अन्तिम खेलहरु शुरु हुदैछन् । जस अन्तर्गत समूह बी को अन्तिम चरणका खेलहरू आज राति नेपाली समय अनुसार एकै समयमा १२: ४५ बजेदेखि हुदैछन् । यी खेलले समूह विजेता टुंगो लाग्ने र नकआउट चरण पुग्ने अन्तिम टिमहरूको निर्णय हुने छ ।
स्विट्जरल्यान्ड र क्यानडाबीच भ्यान्कुभरमा हुने खेलमा समूहको शीर्ष स्थानको प्रतिस्पर्धा हुनेछ । दुवै टोली दुई खेलपछि चार-चार अंकसहित बराबरी अवस्थामा छन् । यस्तो अवस्थामा बराबरी भए दुवै टोली नकआउट चरणमा पुग्नेछन् । तर हारले मात्र यस समुहको समीकरण बिग्रिन सक्छ । पराजित भएमा बोस्निया हर्जगोभिना र कतारबीचको खेलमा ठूलो अन्तरले नतिजा फेरियो भने मात्र बाहिरिने जोखिम रहन्छ ।
स्विट्जरल्यान्ड पछिल्लो खेलमा बोस्निया हर्जगोभिनालाई ४-१ ले हराउँदै उत्कृष्ट लयमा छ । त्यस खेलमा रुबेन वर्गास र ग्रानित झाका गोल गर्न सफल भए । साथै, जोहान मान्जाम्बीले विकल्प खेलाडीका रूपमा दुई गोल गर्दै ऐतिहासिक प्रदर्शन गरे। उनी फिफा विश्वकपको एकै खेलमा विकल्पबाट दुई वा बढी गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । स्विट्जरल्यान्ड लगातार चौथो पटक समूह चरण पार गर्ने लक्ष्यमा छ। उनीहरू आक्रामक लयमा देखिएका छन् र यो प्रतियोगितामा पहिलो पटक एक खेलमै चार वा बढी गोल गर्न सफल भएका छन् ।
उता, क्यानडा आफ्नो घरेलु मैदानमा ऐतिहासिक जितपछि आत्मविश्वासमा छ । कतारविरुद्ध ६-० को फराकिलो जित निकाल्दै उनीहरूले आफ्नो क्षमता प्रमाणित गरेका छन् । जोनाथन डेभिडले ह्याट्रिक गर्दै खेलको नायक बने। उनी प्रतियोगितामा ह्याट्रिक गर्ने सीमित खेलाडीमध्ये एक बनेका छन् । स्विट्जरल्यान्ड र क्यानडाबीचको पहिलो भेट हो, त्यसैले नतिजा अनुमान गर्न कठिन छ । बराबरीले दुवैलाई नकआउट चरणमा पुर्याउने भएकाले खेल रणनीतिक हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, सिएटलमा बोस्निया हर्जगोभिना र कतारबीचको खेल पनि निर्णायक हुनेछ । दुवै टोलीको दुई खेलपछि केवल एक अंक मात्र छ । यस्तो अवस्थामा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । बोस्नियाले पछिल्लो खेलमा स्विट्जरल्यान्डसँग ४-१ को हार बेहोरेको थियो । टोली अहिले लगातार खराब नतिजामा छ र पछिल्ला खेलहरूमा जित निकाल्न सकेको छैन । कतार भने क्यानडासँग ६-० ले पराजित भएपछि दबाबमा छ। उक्त खेलमा रातो कार्डका कारण उनीहरूको रक्षापंक्ति कमजोर बनेको थियो ।
चारै टोलीका लागि यी खेलमा जितबाहेक विकल्प नभएको स्पष्ट देखिएको छ तर प्राविधिक रुपमा क्यानडा र स्वीजरल्याण्ड बराबरीमा रोकिएमा बोस्निया हर्जगोभिना र कतारलाई धक्का लाग्न सक्ने देखिन्छ । यद्यपी जित निकालेर ४ अंक बनाएमा तेस्रो हुने टिमबाट नकआउट चरणमा पुग्ने विकल्प भने कायमनै छ ।




