
काठमाडौं असार ९ गते । काठमाडौं महानगरपालिका वडा नं.४ द्वारा आयोजित अन्तरविद्यालय खुला फुटसल प्रतियोगिताको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ ।
बालुवाटारमा भएको फाइनलमा साइपाल एकेडेमीलाई ४–१ ले पराजित गर्दै बाँसबारी अन्तर स्कुल फुटसलमा च्याम्पियन भएको हो । उसले सेमिफाइनलमा ब्रुकलिन इन्टरनेसनल सेकेन्डेरी स्कुललाई ७–१ ले हराएको थियो भने साइपालले युनिभर्सल इंग्लिस स्कुललाई ३–२ ले पन्छाएको थियो ।
तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा ब्रुकलिनले युनिभर्सललाई १–० ले पराजित गर्यो । नकआउटको आधारमा आयोजित प्रतियोगितामा १६ स्कुलले प्रतिस्पर्धा गरेका थिए । कामपा ४ का वडा अध्यक्ष दिनेश महर्जनलगायतले विजेता टिम तथा खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
बाँसबारी माविका विवेक मगर प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडी घोषित भए । साइपालका आदित्यकुमार मिश्रले बेस्ट गोलकिपरको पुरस्कार हात पारे ।




