
काठमाडौँ।विश्वकपमा समूह चरणको दोस्रो खेलमा चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिएका छन् ।
उनीहरूबीच १-१ को बराबरी भएको हो । खेलको पहिलो हाफको पाचौँ मिनेटमा चेकियाका मिखाइल सेड्लिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
एडम होल्जेकले दायाँ भागबाट बललाई पछाडि तानेर अलेक्सजेन्डर सोज्कालाई दिएका थिए । उनको फर्वार्ड टचले मिखाइल सेड्लिकलाई प्रहारको मौका सिर्जना गरेको थियो । उनले दक्षिण अफ्रिकाका मिडफिल्डर रोनवेन विलियम्सलाई छक्याउँदै चलाखीपूर्ण ढंगले बललाई जाली चुमाए । यो चेकियाका लागि मिखाइल सेड्लिकको दोस्रो गोल हो ।
दोस्रो हाफमा दक्षिण अफ्रिकाले गोल फर्कायो ।
८१ औँ मिनेटमा थियबो मोकानाले प्रहार गरेको बल प्याबेल सुलकबाट ह्यान्ड हुन पुगेको थियो । त्यसपछि रेफ्रीले पेनाल्टीको मौका दक्षिण अफ्रिकालाई दिए । उक्त अवसरको सदुपयोग गर्दै थिएबो मोनेकाले सुन्दर गोल गरे ।
खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले १-१ अंक जोडेका छन्।
