
चर्चामा पुस्तक
हेडक्वाटर
हिरामणी दुःखीको कथासङ्ग्रहभित्र पन्ध्र थान कथाहरु समावेश गरिएका छन् । प्रायः समसामयिक चेत र राजनीतिक विषयवस्तुमा आधारित कथाहरु छन् । उतिबेलाको सशस्त्र द्धन्द्धकालीन परिवेशका कथाहरु छन् । यति भएपछि भन्न सजिलो भो कथाहरुका विषयवस्तु,पात्र,परिवेश र घट्नाक्रम त्यहि समय र सन्दर्भका छन् । त्यसको प्रभाव र असर पनि छन् । कथाहरु वर्गीयताका पक्षधर लाग्छन् । कम्यूनिष्ट विचारधाराबाट अभिप्रेरित भएर आएका छन् । यहाँ नेपाली समाज छ,सांस्कृतिक विचलनका विषय छन् । सरकारका आतंकका कथा छन् ।
सरल भाषाशैलीले कथाहरु लेखिएका छन् ।
हेडक्वाटरलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.४००। रहेको छ ।
मृत्यू -उत्सव
शेखर ढुङ्गेलको नविनतम कविताकृति हो । ८३ वटा विभिन्न कविताहरु यस सङ्ग्रहभित्र समावेश गरिएका छन् । देशप्रेमको भावना,देशको वर्तमान बिद्रप अबस्था,जीवन र जगतसँग सम्बन्धित यावत विषयहरु,कविका अनुभूति र अनुभवहरु,कविताका विषय भएर आएका छन् । यसैगरी राजनीतिका विकृति ,भ्रष्टाचार लगायत विभिन्न सामाजिक समस्याको सन्दर्भमा पनि कविताहरु बोल्छन् । कविताले डायस्पोरा जीवन पनि चित्रण गरेका छन् ।
सुुन्दर छन् कविता । सरल र सुलोलित भाषा छ । प्रतीक,बिम्बको कम प्रयोग गरिएका छन् ।
मृत्यू- उत्सवलाई साहित्यिक पत्रकार संघले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३००। रहेको छ ।
दर्शनशास्त्रको इतिहास
हेमन्तप्रकाश ओली सुदर्शन को दार्शनिक फाँटको सुन्दर कृति हो । यसले पाठकहरुलाई दर्शनशास्त्रको ज्ञान दिन्छ । पूर्वीय तथा पाश्चात्य दर्शनको जानकारी दिन्छ । माक्र्सवादी दर्शनको विशद् ज्ञान पाइन्छ । दर्शनशास्त्रको उत्पत्ति,विकास,र यसको परिभाषा बताउँछ । भौतिकवादी र आदर्शवादी दर्शनको भेद छुट्याउन पनि सहयोगी कृति बनेको छ ।
मध्ययुगीन र विकसित पाश्चात्य दर्शनका विभिन्न दार्शनिकहरुको चर्चा पनि कृतिले गरेको छ । आधुनिक दार्शनिकहरुको योगदानको बारेमा पनि ज्ञान पाइन्छ । कृति राजनीतिज्ञ,विद्यार्थी,अध्यापक तथा दर्शनशास्त्र बारे अभिरुची राख्ने जो कोहीको लागि लाभप्रद छ ।
दर्शनशास्त्रको इतिहासलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.१५००। रहेको छ ।
