
कविता
बादल-वन र रित्तो गाग्री
विश्व सिग्देल
डोकामा बोकेर रित्तो गाग्री
लेक उक्लिरहेकी
ती महिला हुन् कि खस्रुको बोट ?
कुहिरोको सालनालमा बाँधिएको
बादल वनभित्र
एउटा खस्रुको बोट
रित्तो गाग्री रुँघेर बसिरहेथ्यो
उसका पैतालामुनि
पहेँलिएका काई उम्रिएको पृथ्वी थियो
र उसका पातका हस्त रेखामा
सुक्न लागेका मुहानका मौन आँसु
बादल वनमा
अब नाममा मात्र बादल थियो
आक्कल झुक्कल बाटो भुलेर
बिरामी बुढी आमाको निधार चुम्न
सन्तान झुके झैँ
बादल झुक्छ यदाकदा अब पातहरुमा
र तत्काल तान्छन् पातहरु, हाँगाबिँगा
ओसको अमृत
र भर्छन् रित्तो घडा
मानौँ
खस्रुक बोट
आफ्नो मुखलाई माटोमा गाडेर
प्राण फुकिरहेछ पृथ्वीभित्र
धर्तीको अँध्यारो शरीर भएर
उज्यालो जरुवा मुन्टो उठाउने यत्नमा छ।
त्यसो त
चिथोर्दै गएपछि फलामे नङ्ग्राले
पहाडको आङ
बाल्दै गएपछि माटो,
ढाल्दै गएपछि पृथ्वीको फोक्सो,
टाल्दै गएपछि कमिलाका प्वाल,
गाल्दै गएपछि पत्थर
खुकुलिदै गएको हो कुहिरोको अङ्गालो
र सर्दै गएको हो बादल
वन छोडेर माथि माथि
बादल सरेपछि, चढेपछि लेक
बादल-वनका लाखौं हाँगाबिँगा, करोडौँ पातहरुले
गुमाएका हुन् बादलका वर्णमाला अनि पानीको पाठ
र पछ्याएका हुन् खस्रुहरुले,
कटुसहरुले,
भोजपत्र अनि चिमालहरुले
लेकको पत्थरिलो बाटो
सुकेपछि मुहान
जीवन खोज्दै
डोकोमा बोकेर रित्तो गाग्री
ब्रह्माण्ड घुम्ने
ती महिला हुन् कि
लेक चढ्दै गरेका
हुन् भोजपत्र, खस्रु,कटुस र चिमाल !

