
काठमाडौँ । चर्चित गीतकार राखी गौचनले आफ्नो नवीनतम नेपाली गीत ‘ऐना सरी’को म्युजिक भिडियो सार्वजनिक गरेकी छन्।
चर्चित गायक उदय सोताङको सुमधुर स्वर र शंकर थापा स्माइलको संगीत मा सजिएको उक्त गीतको म्यूजिक भिडियोमा नेपाली चलचित्रकी वरिष्ट अभिनेत्री करिश्मा मानन्धरले भिडियोमा मुख्य मोडलको रूपमा अभिनय गरेकी छन्।
हालै सार्वजनिक भएको यस म्युजिक भिडियोले आकर्षक दृश्य प्रस्तुति र भावनात्मक अभिव्यक्तिका कारण दर्शकहरूको ध्यान खिच्न सफल भएको छ। करिश्मा मानन्धरको सजीव र सौम्य अभिनयले गीतलाई थप प्रभावशाली बनाएको छ। गीतका शब्दहरूमा राखी गौचनको काव्यिक संवेदना र गहिरो भावबोध प्रतिबिम्बित भएको छ, जसले नेपाली संगीतप्रेमीहरूमाझ उनलाई विशिष्ट पहिचान दिलाएको छ। गीतको प्रवर्द्धन विभिन्न डिजिटल माध्यममार्फत पनि गरिएको छ।
पोखरामा जन्मिएकी राखी गौचन हाल अमेरिकाको सान फ्रान्सिस्कोमा बसोबास गर्दै आएकी छन्। उनले विगत धेरै वर्षदेखि गीत लेखनमार्फत नेपाली संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी छन्।
गौचनले नेपाली संगीतका दुई एल्बम ‘परिभाषा’ र ‘जानी नजानी’सार्वजनिक गरिसकेकी छन्।
हालसम्म उनले करिब ६० वटा गीत रचना गरिसकेकी गौचनका गीतहरूमा नेपाली संगीत क्षेत्रका अनेकौं चर्चित गायक–गायिका तथा संगीतकारहरूसँग सहकार्य भएको छ।






