
मुक्तकहरु
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
१.
जे छ त यहाँ सृष्टि सबैको निम्ति छ
हर्षित हुने कारण छैन न तृप्ति छ
तिम्रो धड्काईले यता म बेहोस छु
कतिबेला रोकिन्छ श्वास विन्ती छ!
२.
पीडामा ढाडस दिने हरपल उनै आमा हुन
दया माया र ममताकी खानी उनै आमा हुन
सुनाउनेले जेसुकै सुनाए पनि बुझ्नु यथार्थता
यो संसार देखाउने त केवल उनै आमा हुन।
३.
पूरा नहुने देखेरै होला अनेक मनमा रहर भएको
तिमी खहरे खोला भएरै त होला मलाई कहर भएको
हुन पनि केसारो अर्थ विहिन भएर बाँच्नुपर्छ यहाँ अहिले
त्यसैले त मलाई गाउँ भन्दा पनि दिग्दार शहर भएको !
४.
अभाव भएको दिनमा मात्रै खानलाई माग्न सक्छु
मरेको छैन आवश्यक पर्दा चुपचाप जाग्न सक्छु
अहिले त्यतिकै छि छि र दुरदुर किन गर्दछौं मलाई
हेला गरे फेला परौला फेरि म त काम लाग्न सक्छु!
५.
नबिगार्नु कुनै पनि कुराहरु लगावको बेला
चुपचाप प्रतिवाद गर्नु टर्रो दबाबको बेला
सम्बन्धमा सकेसम्म दरार आउन दिनु हुन्न
धेरै थोर सहनुपर्दछ सबैले अभावको बेला!
पनौती



