
काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिप्रति संसद्को रोस्ट्रमबाटै माफी माग्नुपर्ने निष्कर्ष निकालेका छन् ।
सोमबार (जेठ १८) सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी पाँच दलको बैठकबाट प्रधानमन्त्रीको उक्त अभिव्यत्तिप्रति आपत्ति जनाइएको हो ।
उक्त अभिव्यक्ति र लिपुलेक र कालापानीसहितका विषयमा बेलायत सरकारलाई पनि तान्ने कार्य दुवै गम्भीर रहेको विपक्षीको ठहर छ । प्रधानमन्त्रीले आफ्नो भनाइ नसच्याएसम्म संसद् बैठक चल्न नदिने उनीहरूको तयारी छ ।
सम्माननीय प्रधानमन्त्रीज्यूबाट संसद्को रोस्ट्रममा उभिएर नेपालले भारतको जग्गा मिचेको छ भन्ने भनाइ नेपालको सार्वभौमसत्ताको विरुद्धमा छ । यो भनाइ संसद्को रोस्ट्रमबाटै उभिएर प्रधानमन्त्रीले सच्याउनुपर्छ भन्ने साझा निष्कर्ष निकालेका छन् ।


