
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सरकारी कर्मचारीहरूको तलब वृद्धि गरेको छ ।
बजेटमार्फत सार्वजनिक गरिएको विवरणअनुसार मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्म सबै तहका कर्मचारीको आधारभूत १० प्रतिशत तलब बढ्नेछ । यससँगै प्रोत्साहन रकम र महँगी भत्ता जोडिएपछि कुल पारिश्रमिक पनि बढ्ने छ ।
नयाँ संरचनाअनुसार हाल ७७ हजार २११ रुपैयाँ आधारभूत तलब बुझ्दै आएका मुख्यसचिवको तलब सात हजार २१ रुपैयाँले बढेर ८४ हजार ९३२ रुपैयाँ पुग्नेछ । प्रोत्साहन रकम आठ हजार ४९३ रुपैयाँ र पाँच हजार रुपैयाँ महँगी भत्ता जोड्दा कुल पारिश्रमिक करिब ९८ हजार ४२५ रुपैयाँ पुग्ने छ ।
हाल ७२ हजार ८२ रुपैयाँ तलब पाउने सचिवको आधारभूत तलब सात हजार २०८ रुपैयाँले बढेर ७९ हजार २९० रुपैयाँ पुग्नेछ । प्रोत्साहन र महँगी भत्तासहित सचिवको कुल पारिश्रमिक करिब ९२ हजार २१९ रुपैयाँ पुग्ने देखिन्छ ।
त्यस्तै, सहसचिवको हालको ५६ हजार ७८७ रुपैयाँ तलब बढेर ६२ हजार ४६५ रुपैयाँ पुग्ने अनुमान गरिएको छ । उनीहरूले ६ हजार २४६ रुपैयाँ प्रोत्साहन र पाँच हजार रुपैयाँ महँगी भत्ता पाउनेछन् । यससँगै कुल पारिश्रमिक करिब ७३ हजार ७१२ रुपैयाँ पुग्ने छ ।
उपसचिवको आधारभूत तलब हाल ४८ हजार ७३७ रुपैयाँ रहेकामा चार हजार ८७३ रुपैयाँ वृद्धि भएर ५३ हजार ६१० रुपैयाँ पुग्ने देखिएको छ । प्रोत्साहन रकम र महँगी भत्तासहित कुल पारिश्रमिक करिब ६३ हजार ९७९ रुपैयाँ पुग्नेछ ।
अधिकृत तहका कर्मचारीको हालको ४३ हजार ६८९ रुपैयाँ तलब बढेर ४८ हजार ५७७ रुपैयाँ पुग्नेछ । यसमा चार हजार ८५७ रुपैयाँ प्रोत्साहन र पाँच हजार रुपैयाँ महँगी भत्ता थपिँदा कुल पारिश्रमिक करिब ५७ हजार ६३२ रुपैयाँ पुग्नेछ ।
त्यस्तै, नासुको आधारभूत तलब हाल ३४ हजार ७३० रुपैयाँ रहेकामा तीन हजार ४७३ रुपैयाँ वृद्धि भएर ३८ हजार २०३ रुपैयाँ पुग्नेछ । कुल पारिश्रमिक करिब ४७ हजार २३ रुपैयाँ पुग्नेछ ।
खरिदारको हालको ३२ हजार ९०९ रुपैयाँ तलब बढेर ३६ हजार १९९ रुपैयाँ पुग्ने छ । प्रोत्साहन र महँगी भत्तासहित कुल पारिश्रमिक करिब ४४ हजार ८१० रुपैयाँ पुग्नेछ ।
कार्यालय सहयोगीको आधारभूत तलब हाल २७ हजार ६११ रुपैयाँ रहेकामा दुई हजार ७६१ रुपैयाँ वृद्धि भएर ३० हजार ३७२ रुपैयाँ पुग्नेछ।

